स्वास्थ्य बीमा बोर्डले समयमा भुक्तानी नगर्दा ओखलढुंगाको सामूदायिक अस्पताल संकटमा, बीमितसँग रकम उठाईदै

काठमाडौं । ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) ले स्वास्थ्य बीमा बोर्डसँगको सम्झौताविपरीत बिमितबाट अतिरिक्त रकम लिन सुरु गरेको छ । अस्पताल नै संकटमा लजाने अवस्था सिर्जना भएसँगै स्वास्थ्य बीमा बोर्डसँग आवद्ध रहेका बीमितहरुसँग रकम उठाउन सुरु गरेको छ।
यसप्रति बीमितहरुले गुनासो गर्न थालेको छ। स्वास्थ्य बीमा बोर्डसम्म उक्त घटना आइनपुगेको बोर्डको कार्यकारी निर्देशक दामेदर बसौला बताँउछन् । स्वास्थय बीमाको नियम विपरित यस्तो गरेको खबर सत्य हो भने हामी कार्वाही गछौ, उनले भने ।
बिमितलाई एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्नुपर्ने प्रावधानविपरीत अस्पतालले सम्झौता उल्लंघन गरेको हो । अस्पतालले केही सातादेखि बीमितलाई बोर्डको दररेट नभएर अस्पतालको दररेट लागू गरी थप रकम असुल्न थालेको बीमितहरुले बताएका छन् ।
‘मुटुमा केही समस्या भएर ईसीजी गराएँ,’ एक बिमितले भने, ‘बीमा कार्ड हुँदाहुँदै ईसीजी गराएबापत २ सय ५० रुपैयाँ लिए, केको पैसा भनेर सोध्दा ईसीजी गरेको बोर्डले अस्पताललाई २ सय मात्र दिन्छ, हाम्रो अस्पतालको रेट ४ सय ५० हो भने ।’
अस्पतालमै भर्ना भई उपचाररत बिमितलाई गएको असोजदेखि अतिरिक्त शुल्क लिन थालिएको हो । ओपीडीका बिरामीलाई गत सातादेखि रकम लिन थालिएको छ ।
बीमा बोर्डसँगको सम्झौताविपरीत रकम लिएको सम्बन्धमा अस्पतालले ‘बोर्डले समयमा रकम भुक्तानी नदिएको’ कारण देखाउँदै पन्छिएको छ । ‘सम्झौतामा बीमाबापतको रकम भुक्तानी मागेको १५–१५ दिनमा प्राप्त गर्ने उल्लेख छ,’ अस्पतालका निर्देशक रोशन खरेलले भने, ‘तर बोर्डले ६ महिनामा पनि भुक्तानी गर्दैन, त्यस बीचमा अस्पताल सञ्चालन गर्न र डेढ सय कर्मचारी धान्न आर्थिक स्रोत चाहिन्छ, त्यसैले बीमाले उपलब्ध गराउने दररेट हटाएर अस्पतालको दररेटमा थप रकम लिन थालेका हौं ।’
निर्देशक खरेलले गरिब र विपन्न बिरामीको हकमा अस्पतालले सहयोग गर्ने कोषमार्फत निःशुल्क उपचार गर्दै आएको बताए । ‘बोर्डले गएको आर्थिक वर्षमा मात्र तीन पटक रकम भुक्तानी गरेको छ,’ गौतमले भने, ‘सम्झौताअनुसार १५–१५ दिनमा भुक्तानी नभएको सत्य हो तर बोर्ड एउटा सरकारी निकाय भएकोले यसबाट भुक्तानी हुँदैन भनेर अस्पतालले आफ्नो रेटअनुसारको अतिरिक्त शुल्क लिन पाउँदैन ।’उनले यसअघि दुई वर्षदेखि मिसन अस्पतालले सम्झौताअनुसार काम गर्दै आएको बताए ।
उक्त अस्पतालको सन्दर्भमा हालसम्म कुनै किसिमका गुनासो प्राप्त नभएकोले वास्तविकता के रहेछ भनेर बुझी समस्या समाधानको पहल गर्ने प्रमुख पण्डितले बताए ।अतिरिक्त रकम लिइसकेपछि बीमा बोर्डलाई र बिरामीलाई फरक फरक बिल बनाउँदा दोहोरो झन्झटसमेत देखिएको छ । तर अस्पतालले बिरामीलाई थप शुल्क असुलेको बापतको बिल उपलब्ध गराएको छैन ।
सर्वसाधारणले चाहिँ सेवाप्रदायक निकायले सरकारी सम्झौताविपरीत रकम असुल्न नहुने बताएका छन् । ‘बरु बिमा लागू गर्न सक्दैन भने सक्दिनँ भनेर रद्द गर्दा हुन्छ,’ स्थानीय बाबुकाजी थापाले भने, ‘तर यसरी रकम असुल्ने हो भने त अस्पतालले आफ्नो समस्या देखाएर उपचारको दररेट जति बढाए पनि भइहाल्यो नि ।’
अतिरिक्त रकम असुल्ने सम्बन्धमा अस्पताल व्यवस्थापन समिति बैठकमा छलफल भएको तर सो निर्णय टुंगोमा नपुगेको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताए ।
उनले भने, ‘अहिले बदमासी भएको भन्ने सुनेको छु, अब फेरि बैठक बसेर यस विषयमा छलफल हुन्छ ।’ चालु आर्थिक वर्षमा गत कात्तिकमा मात्र बीमा बोर्डले उक्त अस्पताललाई ४६ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।











