एनआइबिएल एस क्यापिटलले पुष ७ गतेदेखि ‘एनआइबिएल ग्रोथ फण्ड’ निष्काशन गर्ने

काठमाडौं । एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन गर्ने भएको छ। क्यापिटलले यहि पुष ७ गतेदेखि १० वर्षे अवधिको उ्क्त फण्ड निष्काशन गर्ने भएको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ लाख इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ। यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।












