बस दुर्घटनाको बीमा दावी भुक्तानी नदिएर ठगी गर्दै प्रिमियर इन्स्योरेन्स

१० माघ २०७९, मंगलवार ११:०६

काठमाडौं । २०७८ साल फागुन ८ गते नुवाकोटको साल्मेबाट काठमाडौंका लागि हिँडेको प्रदेश ३ ०१–००६ ख १५४१ नम्वरको टिमुरे यातायातको यात्रु बाहक बस नुवाकोटकै किस्पाङ गाउपालिका वडा नं ३ किर्ने बगरमा दुर्घटनामा पर्यो । बसमा सवार ८० जना घाइते भए । तत्कालै सेना, सशस्त्र प्रहरी र प्रहरीले उद्धार गरेर अस्पताल पठाइयो । केहीलाई हेलिकोप्टरबाटै काठमाडौंस्थित अस्पतालमा पुर्याईयो । कैंयौं यात्रुहरु अंगभंंग भए ।

टिमुरे यातायातको सो बसको बीमा प्रिमियर इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । टिमुरे यातायातका अध्यक्ष तथा कर्मचारीहरुले ८० जनाको उपचार बापत करिब दुई करोड रुपैयाँ खर्च गरे । बीमा दावी गर्दा तेस्रो पक्ष बीमा अन्तर्गत घाइतेको औषधोपचार खर्च बापत अधिकतम् तीन लाख रुपैयाँ मात्रै बीमा दावी गर्न पाउने हुँदा जम्मा ७९ लाख रुपैयाँको बीमा दावी गर्न पाए । बसको सिट क्षमता जम्मा २७ मात्रै थियो । त्यसैले बीमाको नियम अनुसार जम्मा २७ जना मात्रैको दावी भुक्तानी दिने भनेर सो अनुसार ७९ लाख र बसमा पुगेको क्षति समेत गरी कूल ८३ लाख रुपैयाँको बीमा दावी पेश गरिएको थियो । घट्नामा ७ जना गम्भिर घाइते २८ जना सिकिस्त भएर उपचार सेवा लिएका थिए भने ४५ जना सामान्य घाइते थिए ।

यद्यपि उनीहरु सबैको अस्पतालमा राखेर उपचार गरिएको थियो । एकमृष्ठ ८३ लाख रुपैयाँ बीमा दावी गरेको अवस्थामा अस्पतालको बिल अस्वीकार गर्दै दावी भुक्तानीमा प्रिमियर इन्स्योरेन्स कम्पनीले ठगी गर्दै आएको छ । बीमा प्राधिकरणको नियम अनुसार ३५ दिनभित्रैमा दावी भुक्तानी दिईसक्नुपर्ने छ । तर, कम्पनीले ८३ लाख रुपैयाँको ब्याजको लोभमा दावी भुक्तानीका लागि विभिन्न बाहाना बनाएर ठगी गर्दै आएको छ ।

बस दुर्घटनामा दावी भुक्तानी दिलाउन टिमुरे यातायातले प्रिमियर इन्स्योरेन्स कम्पनीमा धाएको झण्डै वर्षदिन (११ महिना दुई दिन) बितिसकेको छ । तर, अझै पनि पीडितहरुले बीमा दावी भुक्तानी कहिले पाउँछन निश्चित छैन । प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले विभिन्न बाहना बनाउँदै फर्काउने गरेको पीडित टिमुरे यातायतका अध्यक्ष ओम प्रकाश जोशीले पीडा सुनाए ।

टिमुरे यातायातका अध्यक्ष ओम प्रकाश जोशीका अनुसार अनुसार सिइओ विश्वराम तिमिलाले घाइतेको उपचार खर्च बापतको रकममा शंकाको दृष्टिले हेर्दै बीमा दावी भुक्तानी गर्न ढिलाई गर्दै आएका हुन् । टिमुरे यातायातका एक चालकले भने मृत्यु भएका मानिसले पाउने रकममा समेत कम्पनीका कर्मचारीहरुले कमिशन मागेर हैरान पार्ने गरेको गुनासो गरेका छन् ।

बीमा प्राधिकरणको नियम अनुसार ३५ दिनभित्रमा बीमा दावी भुक्तानी भइसक्नुपर्ने व्यवस्था छ । तर, प्रिमियर इन्स्योरेन्स कम्पनीले भने दुर्घटनामा आजीवन अंगभंग भएका, आफन्त गुमाएका परिवारले पाउने बीमा दावी भुक्तानी रकम झण्डै वर्षदिनसम्म पनि पाउन सकेका छैनन् । ब्याजको लोभमा बीमा दावी भुक्तानी रकम रोकेर राखेको कम्पनीले अब ब्याजसहित गणना गरेर दिनुपर्ने पीडित पक्षको भनाई छ ।

स्रोतका अनुसार प्रिमियर इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले समेत दुर्घटना घाइतेको उपचार खर्च बापतको रकम दावी भुक्तानी नगर्न सिईओ तिमलालाई निर्देशन दिँदै आएका छन् । जनताबाट बीमा शुल्क संकलन गरेर दावी भुक्तानी दिँदा दाँतबाट पसिना निकाल्ने गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीबाट अन्य बीमितहरुले समेत समयमा दावी भुक्तानी नपाएको गुनासो गर्ने गरेका छन् । सोही कारण पछिल्लो समय कम्पनीको व्यवसाय समेत खस्किँदै गएको छ ।

निर्जीवन बीमा व्यवसायमा बढ्दो दण्डहिनता र दावी भुक्तानीका लागि कमिशन माग्ने, ढिलाई गर्ने जस्ता गलत प्रवृत्तिहरु सच्याउन बीमा प्राधिकरणले कडा नियम ल्याएको भएपनि हालसम्म कसैलाई पनि कारवाही नगरी उन्मुक्ति दिइदै आएकोले गतल क्रियाकलापहरु बारम्बार दोहोरिँदै आएका छन् । निर्जीवन बीमा क्षेत्रमा हुने दावी भुक्तानीको गुनासो आउन नदिन समेत प्रिमियर इन्स्योरेन्समाथि बीमा प्राधिकरणले कारवाही गरेर कानुुनी राज्यको अभ्यास गर्नुपर्ने देखिएको छ ।

*यसअघि मृत्यु दावी भुक्तानी भन्ने वाक्यांश पर्न गएकोमा सुधार गरी सम्पादन गरिएको छ । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*