मंसिरको तुलनामा पुष महिनामा ५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, शिखर र हिमालयन एभरेष्ट सबैभन्दा अगाडी (तथ्याङ्कसहित)

१९ माघ २०७९, बिहीबार १७:२४

काठमाडौं । पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जिवन बीमा कम्पनीहरुको ब्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो ।

मंसिर महिनाको तुलनामा १८ निर्जीवन बीमा कम्पनीमध्ये ३ कम्पनीको ब्यवसाय खस्किएको छ भने अधिकांश कम्पनीको बीमा ब्यवसायमा सुधार देखिएको छ । व्यवसाय घट्ने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेको छ ।

१८ निर्जिवन बीमा कम्पनीमध्ये पुष महिनामा सबैभन्दा बढी प्रिमियम कलेक्शन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स लिमिटेड रहेको छ । कम्पनीले पुष महिनामा एक अर्ब ११ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर महिनाको तुलनामा पनि सबैभन्दा बढी प्रगति गरेको छ । मंसिर महिनाको तुलनामा कम्पनीले ३११.६० प्रतिशत बढीले बीमा ब्यवसाय बढाउन सफल भएको छ । मंसिर महिनामा कम्पनीले २७ करोड एक लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, मर्जरपश्चात् बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि पुष महिनामा मात्रै ४० करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले मंसिर महिनाको तुलनामा ११० प्रतिशतले बीमा ब्यवसाय बढाएको हो । अघिल्लो महिनामा हिमालयन एभरेष्टले १९ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

साथै नेको इन्स्योरेन्सले पनि पुष महिनामा २६ करोड ७३ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर महिनाको तुलनामा १३.३१ प्रतिशतले बीमा ब्यवसाय बढेको छ ।

त्यस्तै, नेशनल इन्स्योरेन्सको ९१.६५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ८९.७५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ६८.९१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ६२.८३ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ३१.४६ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सको २९.११ प्रतिशत, सानिमा जिआइसीको २५.०७ प्रतिशत, अजोड इन्स्योरेन्सको २१.१२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १५.३३ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको १३.४७ प्रतिशत, नेको इन्स्योरेन्सको १३.३१ प्रतिशत, सिद्धार्थको ८.९७ प्रतिशत र आइएमई जनरलको ४.४७ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढेको छ ।
त्यस्तै, बीमा व्यवसाय घट्ने कम्पनीहरुमा युनाइटेडको ५.३० प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ९.७३ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको १६.८३ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*