आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरन्सबीच मर्जर हुँदै, शुक्रबार एमओयुमा हस्ताक्षर

२६ माघ २०७९, बिहीबार १९:५७

काठमाडौं । क्रस होल्डिङ राखेर तीन वटा बीमा कम्पनी सञ्चालन गर्दै आएको एमई ग्रुप अन्ततः दुई वटा बीमा कम्पनी मर्जरमा लैजान सहमत भएको छ । सुरुमा तीन वटा बीमा कम्पनीका बीचमा मर्जर प्रयास भएकोमा सरकारी लगानी समेत रहेको नेपाल इन्स्योरेन्सले भने मर्जरमा तयार भइसकेको छैन । यद्यपि छलफल जारी छ ।

बीमापोष्टलाई प्राप्त जानकारी अनुसार अब आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका बीचमा मर्जर प्रक्रिया अघि बढाइने छ । त्यसको लागि सम्भवतः भोलि एमओयु पत्रमा हस्ताक्षर हुनेछ ।

बीमा प्राधिकरणले दुवै कम्पनीलाई मर्जरमा जान वा क्रस होल्डिङ हटाउन चर्को दवाव दिएको थियो । नेपाल सरकारको नीति विपरित लामो समयदेखि निर्जीवन बीमा कम्पनीमा क्रस होल्डिङ रहेका कारण विवादमा परेको आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचमा आज रातभरिमा कुनै अप्रिय अवस्था सिर्जना नभएमा भोलि मर्जर सम्झौता हुने जनाइएको छ ।
क्रस होल्डिङ नै रहेको नेपाल इन्स्योरेन्स कम्पनी भने क्रस होल्डिङमा नजाने लगभग निश्चित जस्तै छ । पुरानो कम्पनी भएकोले नेपाल इन्स्योरेन्स कम्पनीको स्वाप रेसियो अन्य कम्पनीभन्दा धेरै बढि आउने भएकोले प्राविधिक रुपमा तत्काल मर्जर सम्भव नभएको जनाइएको छ ।

लामो समयसम्म पनि निष्कर्षमा पुग्न नसकेपछि बीमा प्राधिकरण गत साता तीनै कम्पनीको अध्यक्ष र मर्जर कमिटिलाई बोलाएर एक साताको समय दिएको थियो । पुनः हिजो भएको छलफल सकारात्मक भएपनि नेपाल इन्स्योरेन्स कम्पनीको तुलनामा अन्य कम्पनीको स्वाप रेसिया ५० प्रतिशत भन्दा कम आउने भएकोले समस्या परेको देखिएको छ ।
भोलि मर्जर सम्झौता गर्न लागिएको विषयमा जिज्ञाशा राख्दा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*