आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीचमा चैत ५ गते अन्तिम सम्झौता हुँदै, सिईओमा युगेश, ढकाल अध्यक्ष

३ चैत्र २०७९, शुक्रबार ०७:४५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचमा यही चैत ५ गते अन्तिम सम्झौता हुने भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता पत्र तयार भएको हो ।

यही चैत्र ५ गते साँझ ५ः३० बजे काठमाडौंको एक होटलमा दुवै कम्पनीका बीचमा आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ ।आइएमई जनरल इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार आइतबार साँझ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितको उपस्थितिमा भव्य भोज सहित अन्तिम सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

चैत ५ गते अन्तिम सम्झौतामा हस्ताक्षर भएपछि दुवै कम्पनीले विशेष साधारणसभामार्फत उक्त अन्तिम सम्झौता पारित भई एकीकृत कारोबार गर्न थाल्नेछन् । त्यसको लागि करिब थप ४५ देखि ६० दिन लाग्नेछ ।

गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका दुई कम्पनीहरुले १५ दिनमै कर्मकाण्डी डिडिए सम्पन्न गरिसकेका छन् । २७ गते मर्जर सम्झौता भएकोमा फागुन १२ गतेतिरबाट डिडिए सुरु गरिएको थियो । सुरुमै १ः१ स्वाप रेसियोमा जाने दुवै पक्षको सहमति भएकोले कुनै कुरा नहेरी डिडिए रिपोर्र्ट तयार पारिएको स्रोतले जनाएको छ । प्रारम्भिक सम्झौता गरेको ३८ दिनमा दुई बीमा कम्पनीले अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् । कम्पनीले लगानीकर्ताहरुलाई समेत अन्योलमा पार्दै रातारात डिडिए तयार पारेर तत्कालै एकीकृत कारोबार गर्न लागेका हुन् ।

सम्झौतामा नयाँ कम्पनीको सिईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स राख्ने सहमति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*