रसिया र चीनबीच दर्जन एजेण्डामा सहमति, पुटिन र सिबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर

८ चैत्र २०७९, बुधबार १२:३२

काठमाडौं । रसिया र चीनबीचमा एक दर्जनबढि एजेण्डामा सहकार्य गर्ने सम्झौता भएको छ । हाल रसिया भ्रमणको क्रममा रहेको चीनका राष्ट्रपति सि जिनपिङ र रसियाली समकक्षी भ्लादिमिर पुटिनबीचमा क्रिमलिन सम्पन्न भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 


सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति जिनपिङको रसिया भ्रमण उपलब्धीपूर्ण रहेको छ । सो क्रममा द्धिपक्षिय हितका विषयमा, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा सहमति भएको उल्लेख छ । भेटवार्ताको क्रममा जारी संयुक्त घोषणापत्रमा चीन र रसियाबीचको सम्बन्ध अझै बलियो बनाउने सहमति भएको छ । सिन्ह्वाले भनेको छ, ‘असल छिमेकी, मित्रता र दुवै पक्षको समाज लाभ हुने सिद्धान्तमा आधारित भएर नयाँ युगको लागि सहकार्यको रणनीतिक साझेदारीलाई अझै गहिरो बनाइनेछ ।’


क्रिमलिनले राजकीय स्वागत गरेसँगै भएको वार्तामा द्विपक्षीय गोप्य र सामूहिक छलफल भएको थियो । सो क्रममा अन्तर्राष्ट्रिय परिदृष्य जस्तोसुकै अवस्थामा पुगेपनि अबको नयाँ युगमा रसिया–चीनबीचको सम्बन्धलाई बलियोसाथ अगाडि बढाउने चीनले प्रतिबद्धता जनाएको छ । चीनले रसियासँग मिलेर नयाँ युगको निर्माण गर्न तयार रहेको सन्देश दिएको छ । 


अन्तर्राष्ट्रिय शक्ति सन्तुलन स्थानान्तरण हुन लागेको सन्दर्भलाई चिनियाँ राष्ट्रपति सिले उल्लेख गर्दै प्राकृतिक दायित्व निर्वाह गर्दै विश्वमा शासकीय सुधारका लागि काम गर्ने उल्लेख गरेका छन् ।
दुई देशबीचमा मुख्य मुख्य विषयमा मिलेर साझा धारणा बनाउने विषयमा सहमति भएको छ । दुई देशका बीचमा अन्तरिक्ष र रणनीति, स्थायित्वको समग्र विषयमा सहमति भएको छ । दुई नेताबीचमा भएको सहमति अनुसार परम्परागत क्षेत्र, उर्जा, स्रोत, इलेक्ट्रोमेकानिकल प्रोडक्ट, औद्योगिकीकरण र आपूर्ति शृंखला, सूचना प्रविधिको क्षमता विस्तार, विद्युतीय अर्थतन्त्र, कृषि र व्यापार सेवा तथा सीमा वारपार यातायातको विषयमा मिलेर काम गर्ने सहमति भएको छ । 


दुई देशका बीचमा जनता–जनताको तहमा सहकार्य गर्ने वातावरण बनाउने, दुई देशका प्रदेशहरुलाई सिष्टर सिटीको रुपमा विकास गर्ने, खेलकूद सम्बन्धी अनुभव आदान प्रदान गर्ने र दुई देशका नागरिकहरुको ओहोर दोहोर गर्ने सम्बन्धमा छलफल भएको छ । 


सो भेटवार्तामा रसियाले चीनको ताईवान र हङकङ टापुको विषयमा पनि ऐक्यबद्धता जनाएको छ । दुई देशका राष्ट्र प्रमुखहरुको भेटवार्तापछि रसिया–चाइना सम्बन्ध नयाँ युगमा पुगेको रुपमा चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 


सो क्रममा क्रिमलिनमा जारी भएको संयुक्त घोषणापत्रमा कृषि, वन, वैज्ञानिक र प्राविधिक अनुसन्धान, बजार नियमन र मिडिया अनुगमनमा सहकार्य गर्ने उल्लेख  छ । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*