नियुक्ती नै नलिई सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सिईओको हैसियतमा काम गर्दै चंकी क्षेत्री

८ चैत्र २०७९, बुधबार १८:१९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा नियुक्ती पत्र नै नलिई चंकी क्षेत्रीले प्रमुख कार्यकारी प्रमुखको हैसियतमा काम गरिरहेको तथ्य उजागर भएको छ । अबैध रुपमा सिईओको हैसियतमा सार्वजनिक कम्पनी काम गरिरहेको भन्दै नेपाल बीमा प्राधिकरणमा यही चैत्र ३ गते नै दर्ता नं १०२०८ नम्वरको लिखित उजुरी परेको भएपनि अध्यक्ष सूर्य प्रसाद सिलवालले कुनै कारवाही नगरेको र नियुक्ती पत्र नलिई काम गर्ने कार्य रोक्न नसकेको उजुरीकर्ताको गुनासो छ ।

नेपाली बीमा क्षेत्रमा कतिसम्म लथालिङ्ग र भताभुङ्ग छ भन्ने कुरा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई हेरे पुग्छ । गत फागुन २९ गतेबाट एकीकृत कारोबार गरेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले हालसम्म सिईओ नियुक्ती गरेको छैन । सार्वजनिक कम्पनीले सिईओ नियुक्तीको विवरण नेप्सेलाई पनि दिनुपर्दछ । तर, आजसम्म कुनै पनि विवरण नेप्सेमा समेत अपडेट भएको छैन । बीमापोष्टले खोजविन गर्दा सोमबारै सञ्चालक समितिको बैठक बसेर सिईओ नियुक्ती गरिएको र सोही दिन बीमा प्राधिकरणमा दर्ता गरिएको देखिएको छ । तर, आजसम्म पनि बीमा प्राधिकरणबाट चंकी क्षेत्रीको सिइओ नियुक्ती सम्बन्धी फाइल स्वीकृत भइसकेको छैन । बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्तीको लागि चैत्र ६ गते सोमबार मात्रै दर्ता भएको पुष्टि गरेको छ ।

 

बीमा ऐनको दफा ५७ बमोजिमको कार्य पूरा गरेर मात्रै कुनै पनि बीमा कम्पनीमा सिईओको हैसियतमा काम गर्न पाइनेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जर भई नयाँ कम्पनीको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको रुपमा फागुन २९ गतेबाट अस्तित्वमा आइसकेको छ । नयाँ कम्पनीको सिईओ नियुक्तीको लागि २९ गते नै गठन भएको सञ्चालक समितिले नियुक्ती सिफारिस गरेपछि बीमा प्राधिकरणमा पुगेर स्वीकृत भएपछि बल्ल नयाँ सिईओको नियुक्ती सम्बन्धी प्रक्रिया पूरा हुन्छ । तर, फागुन २९ गतेदेखि नै चंकी क्षेत्रले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा सिईओको हैसियतमा काम गर्दैछन् । क्षेत्रीलाई चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा नियुक्ती गर्ने निर्णय गरेको बुझिएको छ । तर, अझै उनको सिईओ नियुक्तीको फाइल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छैन ।

बुधबार बीमापोष्ट प्रतिनिधिले सगरमाथा इन्स्योरेन्स कम्पनीमा पुग्दा चंकी क्षेत्री सिईओको हैसियतमा कार्यकक्षमा बसेर कर्मचारीहरुलाई निर्देशन दिने तथा खटन पटन गर्ने कार्य गर्दै आएका थिए ।

बीमा कम्पनीमा नियुक्ती पत्र नै नलिई सिईओको हैसियतमा काम गरिरहेको र सो सम्बन्धमा चैत्र ३ गते नै लिखित उजुरी दर्ता हुँदा समेत कुनै कदम नचालिनुले नियामक निकाय नेपाल बीमा प्राधिकरणभित्रै बेथिती रहेको र सामान्य कुरा समेत नियमन हुँदैन भन्ने तथ्य उजाग भएन र अध्यक्ष सूर्य सिलवाल ज्यू ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*