हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द

१० चैत्र २०७९, शुक्रबार १३:२४

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ।सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ।

सो मेसिनको मर्मत प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनः सञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए।उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ।विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो, तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए।

सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ। साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्री–वितरण गर्ने काम भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ। अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ।

उद्योगका लागि पर्याप्त मात्रामा चुनढुंगाको मौज्दात रहेको बताइएको छ। नेपाल सरकारद्वारा ०३२ सालमा स्थापना भएको सो उद्योगले ०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो। हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेको छ। रासस

One thought on “हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द

  1. pradip khadka says:

    CHOR HARULE KHATAMAI GARYO.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*