काठमाडौंको संवेदनशिल आकाशमा कसले उडायो शंकास्पद बेलुन ? पशुपति हुँदै विमानस्थलमाथि उडे तीन बेलुन

११ चैत्र २०७९, शनिबार १०:४०

काठमाडौं । आज विहान काठमाडौंको आकाश हुँदै शंकास्पद बेलुन क्रस भएको छ । रोचक कुरा के छ भने राजधानी काठमाडौं माथि तीन वटा शक्तिशाली र शंकास्पद बेलुन उडेर सैनिक हेडक्वाटर, प्रहरी हेडक्वाटर र विमानस्थल हुँदै पूर्वतर्फ क्रस हुँदा समेत सबै बेखवर झै छन् । 


बिहान करिब ८ः१५ बजे काठमाडौँमाथिको आकाशमा देखिएका तीन वटा सेता रङ्गका बेलुनहरु बीमापोष्ट संवाददाताले ८ः२३ बजे ज्ञानेश्वरमाथिको आकाशमा हुँदा एउटाको तस्विर खिच्न सफल भएका थिए । सेतो रंगका प्रतिघण्टा ३०० किमी (अन्दाजी) को गतिमा पश्चिमबाट पूर्वतर्फ गइरहेका थिए । 


सेतो रङ्गका तीन वटा बेलुन जस्ता बस्तु उडेर ज्ञानेश्वरबाट पूर्वतर्फ जाँदै गर्दा नेपाल एयरलाइन्सको जहाज काठमाडौं दिल्ली उडान भर्ने तयारीमा थियो । त्यस्तै सोही समयमा बेलुनसँगै पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको उडान नं बिएचए ६२० को रुटभन्दा केही अघि बेलुन काठमाडौं उपत्यकामा छिरेको थियो । 


बिहानको भर्खरै सूर्योदय भएकोले पश्चिमबाट पूर्व आउने जहाजहरुले नदेख्ने र पूर्वबाट पश्चिम जाने जहाजहरुले देख्न सक्ने खालको रहेको थियो । करिब पाँच हजार फिट (अन्दाजी) माथि उठेको तीन वटा बेलुन लहरै आकाशमा प्रहरी प्रधान ठमेलमाथिको आकाश हुँदै डिल्लीबजारको माथि आकाशमा देखिएका थिए । 


नेपाली सेनाले बेलुन उडाइएको घटनाबारे जानकारी नभएको तर नेपाली सेना र त्रिभुवन विमानस्थलले डिटेक्ट गरेको पुष्टि गरेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बेलुन उडेर पशुपतिनाथ मन्दिरको माथि आकाश हुँदै विमानस्थलको धावनमार्गको पूर्वतर्फबाट अघि बढेको पुष्टि गर्दै उडान र अवतरणमा कुनै समस्या नभएको बताए । 


उता, विमानस्थलको आकासमाथि बेलुन उडेपछि विमानस्थल टावरले गौशाला प्रहरीलाई खवर गरेर सोधखोज गर्न लगाएको बुझिएको छ । तर, बेलुन आकाशमा उडेर गएकोले गौशाला प्रहरीले केही पत्तो पाउन सकेको छैन ।
देशको राजधानी र अत्यन्तै व्यस्त विमानस्थलमा कसले उडायो बेलुन जस्तो बस्तु ? यसको सोधीखोजी गर्ने जिम्मेवारी कसको हो ?   

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*