सुर्खेतबाट डिजिटल साक्षरता कार्यक्रम सुरु, देशव्यापी अभियान अघि बढाउने तयारीमा क्यान महासंघ

१२ चैत्र २०७९, आईतवार २०:४९

काठमाडौं । सूचना प्रविधि सम्बन्धी छाता संगठन क्यान महासङ्घले डिजिटल साक्षरता अभियान सुरुवात गरेको छ । आम सर्वसाधारणमा सूचना प्रविधिको पहुँच र यसको प्रयोग बृद्धि गर्ने उद्देश्यले क्यानले सुर्खेतबाट सो अभियान सुरुवात गरेको जनाएको छ । 


आज सुर्खेतस्थित सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा एक दिन तालिम गरेर डिजिटल साक्षरता कार्यक्रमको सुरुवात गरेको हो । सामान्य साक्षरता मात्रै भएका आमाबुबाहरूमा मोबाइल चलाउन समेत समस्या देखिने गरेको सन्दर्भमा क्यान महासंघले आज एक दिने तालिममा मोबाइल चलाउन सिकाउने, मोबाइल एप डाउनलोड गर्न सिकाउने तालिम दिएको छ । त्यस्तै, सामाजिक सञ्जाल, इमेल चलाउने तालिम पनि दिएको छ । सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर, गुगल सर्च आदि कुराहरु तालिमका सहभागीहरूलाई सिकाइएको हो । 


क्यान महासंघको डिजिटल साक्षरता कार्यक्रममा नेपाल सरकारका अनलाईनमा रहेको सेवाहरुको बारेमा समेत जानकारी दिइएको थियो । आजको एक दिने तालिममा पासपोर्ट, नागरिक एप, लाइसेन्स तथा आन्तरिक राजश्व कार्यालयको वेभसाइटहरु सञ्चालन गर्ने तालिम दिइएको क्यान महासंघले जनाएको छ । 


सामान्य लेखपढ गर्न मात्रै जानेका, मोबाइल चलाउन समेत नजान्ने तथा नेपाल सरकारको अनलाईन सेवाबारे जानकारी नभएका व्यक्तिहरुलाई तालिम निकै प्रभावकारी भएको सहभागीहरुले जनाएका छन् । आजको तालिममा ७० जना भन्दा बढि सहभागी थिए । तालिममा वृद्धवृद्धा देखि विद्यार्थीहरुसम्म सहभागी थिए । 


क्यान महासंघले आजको डिजिटल साक्षरता कार्यक्रम निकै प्रभावकारी भएको र सामान्य मोबाइल चलाउन नजान्ने मान्छेहरुलाई डिजिटल युगमा प्रवेश गराउन सफल भएको जनाएको छ । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले भने, ‘हामीले डिजिटल युगमा छौं भनिरहेका छौं तर धेरै मानिसहरूलाई मोबाइल कसरी चलाउने भन्ने कुरा नै थाहा छैन । त्यसैले हामी आजको सूचना प्रविधिको महासागरमा पहुँच भन्दा बाहिरका जनतालाई ल्याउने अभियान सुरु गरेका छौं ।’ 


क्यान महासंघले डिजिटल साक्षरता अभियान देशका ७७ वटै जिल्लामा सञ्चालन गर्न तयारी अवस्थामा रहेको भएपनि नेपाल सरकारको सहयोगको आवश्यकता रहेको बताए । उनले भने, ‘हामीले देख्यौं, विकट क्षेत्रका जनतालाई सरकारी अनलाईन सेवा सुविधा लिन सकिरहेका छैनन्, अनलाईन सेवा लिन अर्कैको भर गर्नुपर्दछ ।’ 


महासचिव अधिकारीले नेपालमा सूचना प्रविधिको जग बलियो बनाउन नेपाल सरकार र निजी क्षेत्र दुवैले मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘जग बलियो भयो भने घर बलियो हुन्छ भने झै सूचना प्रविधि विकास र समृद्धि हासिल गर्न आम जनतामा प्रविधिको प्रयोग गर्ने शिप, कला र ज्ञान हुनु जरुरी छ ।’ डिजिटल साक्षरता कार्यक्रमले साइबर क्राइम न्यूनिकरणमा भूमिका खेल्ने हुँदा सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*