निर्जीबन बीमा कम्पनीको आर्जनमा मोटर र सम्पत्ति बीमाको हिस्सा धेरै, लघुबीमा व्यवसाय सबैभन्दा न्यून

२५ जेष्ठ २०८०, बिहीबार ०७:०२

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ ।

सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रीत बनाएका हुन् ।
प्राधिकरणले हाल लाईसेन्स दिएर छुटै लघुबीमा कम्पनी व्यवसाय गर्न दिने भएसँगै कम्पनीहरुको लघुबीमा व्यवसाय घटेको छ।
चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

मोटर बीमाको दावी भुक्तानी हरेक बीमा कम्पनीहरुमा सबैभन्दा धेरै प्रयोग हुने गरेको छ । नेपालमा दैनिक रुपमा हुनेगरेको सवारी दुर्घटना र तेस्रो पक्ष बीमा अनिवार्य गरिएको कारण मोटर बीमालेखबाट सबैभन्दा बढी बीमाशूल्क आर्जन भएको देखिन्छ ।

सरकारले अनिवार्य गरेको मोटर बीमा (तेस्रो पक्ष) मा जबरजस्ती बीमा गर्ने बाध्यकारी नियमले मात्रै निर्जिवन बीमाको व्यवसायमा राहत मिलेको देखिएको छ । तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र लाईसेन्स नविकरण नहुने व्यवस्था रहेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा कुल ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमाशूल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १० अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमाशूल्क आर्जन गरेका छन् ।

दोस्रोमा सम्पत्ति बीमा लेख रहेको छ । कम्पनीहरुले सम्पत्ति बीमालेखबाट कुल सात अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, इन्जिनियर तथा ठेक्का बीमालेखबाट पाँच अर्ब ६७ करोड रुपैयाँ र विविधबाट तीन अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएका छन्
यसका साथै, बैशाख महिनासम्ममा कम्पनीहरुले कृषि तथा बालि बीमालेखबाट २ अर्ब रुपैयाँ, सामुन्द्रिक बीमाबाट एक अर्ब ६७ करोड रुपैयाँ र हवाई बीमालेखबाट एक अर्ब ६० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

कम्पनीहरुले लघु बीमाबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले लघुबीमा मार्फत जम्मा छ करोड १८ लाख रुपैयाँ आर्जन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*