कृषि बीमाको पोलिसी बिक्री सुचारु, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने बीमक संघको चेतावनी

५ असार २०८०, मंगलवार ११:४२

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि सुचारु भएको छ। बीमक संघले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी दिएको हो

नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान बापतको पहिलो किस्ता दिएको दुई सातापछि कम्पनीहरुले कृषि बीमालाई निरन्तरता दिएको छ। लामो समयदेखि कृषि बीमा र दाबी भुक्तानी सम्पूर्ण प्रकृया बन्द गरिरहेको कम्पनीहरुले सरकारले कृषि अनुदान दिएपछि कृषि बीमा कार्यक्रम पुन खुल्ला गरेको हो ।सरकारले कृषि बीमा वापत कम्पनीहरुलाई पहिलो किस्ता वापत ७२ करोड रुपैयाँ निकासा गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले सरकारले अनुदान नदिएको भन्दै पोलिसी नै बन्द गरेपछि सरकारले पहिलो चरणमा सो मात्राको रकम निकाशन गरेको थियो ।

 

सरकारले बजेटमार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो । तर घोषणा गरेअनुसार सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले यो बीमा पोलिसी बिक्री बन्द गरेका थिए ।सरकारले दिने भनेर घोषणा गरेर पनि नदिएको अनुदानमध्ये हाल करिब २५ प्रतिशत रकम मात्रै निकासा गर्ने भएको हो ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी थियो । जसमध्ये पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएसँगै अझै सरकारले २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी छ ।‘सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएको छ, बाँकी रकम भने सक्दो छिटो सल्टाउने निर्णय भएको छ,’ अध्यक्ष चंकी क्षेत्रीले भने ।उनका अनुसार सरकारले विभिन्न चरणमा रकम निकासा गर्ने छ । अब दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना बढी रहेको अध्यक्ष क्षेत्रीले बताए ।

गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकमा अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता भएको छ ।बीमक संघले आगामी असार मसान्तसम्मको लागि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काले बीमापोष्टलाई बताएका छन्।

यदि उक्त समयभित्रमा पनि सरकारले अनुदान रकम नदिएमा पुनः बीमालेख बन्द गरिने संघको चेतावनी दिएको बीमक संघका महासचिव अशोक कुमार खड्काले पत्रमार्फत जानकारी गराएको ।
नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । बीमक संघका अनुसार सरकारले २०७७ सालदेखिको कृषि बीमाको अनुदान बापत करिब ३ अर्ब रुपैयाँ दिन बाँकी रहेको छ ।
त्यस्तै, हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र त्यसपछि मात्रै कम्पनीहरुलाई वितरण गरिने छ । चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले कृषि बीमा पोलिसी बिक्रि खुल्ला गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*