बीमा कम्पनीले दावी भुक्तानी नदिएपछि लम्पीस्कीन पीडित किसान आन्दोलित, पशु सेवा विभागमा धर्ना

राजन कठायत
२७ असार २०८०, बुधबार १६:०९

काठमाडौं । देशैभरिका लम्पी स्कीन रोगबाट गाँइबस्तु, पशु चौपाया मर्ने क्रम जारी छ । बीमा कम्पनीहरुले लप्कीस्कीनबाट मरेका पशुको दावी भुक्तानी नदिने निर्णय गरेर फाइल बुझ्न मानेका छैनन् । बीमा कम्पनीहरुले गैर जिम्मेवार तरिकाले लम्पी स्कीन पीडित किसानलाई दावी भुक्तानी नदिने निर्णयका विरुद्धमा किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आज पशु सेवा विभागमा धर्ना दिइएको छ । आज अपरान्ह १२ बजेदेखि ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागमा देशैभरिबाट उपस्थित १०० भन्दा बढि किसानहरुले धर्ना दिएका हुन् । पीडित किसानहरुले लम्पी स्कीन रोगबाट संकटकाल घोषणा गर्नुपर्ने, पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने, बीमा गरेका किसानलाई बीमा कम्पनीहरुले समेत दावी भुक्तानी नदिएकोले तत्काल दावी भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

धर्नाकारी किसानहरुले बीमा नगरेका पीडित किसानहरुलाई गाउँपालिका, नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारले निश्चित बजेट व्यवस्था गरी राहत दिइनुपर्ने माग गरेका हुन् । सुरुमा कृषि मन्त्रालयमा पुगेका पीडित किसानहरु दोस्रो अर्थमन्त्रालय हुँदै आज पशु सेवा विभागमा आईपुगेका हुन् । पीडित किसानहरुले लम्पी स्कीनबाट पीडित किसानहरुलाई राहत नपाए देशव्यापी कडा संघर्ष गर्ने चेतावनी राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश चन्द तिमल्सिनाले बताए । अध्यक्ष तिमल्सिनाले सरकारले लम्पी स्कीन रोगबाट पीडित किसानको आवाज नसुनेको गुनासो गरे ।

लम्पी स्कीन रोगबाट देशभरि औपचारिक रुपमा २६ हजार भन्दा बढि पशु मरिसकेका छन् भने रोग अझै फैलिने क्रममा रहेको छ । सो रोग निदान गर्न पशु सेवा विभागले द्रूत गतिमा काम गरिरहेको छ । कूल पाँच लाख पशु संक्रमित भएकोमा तीन लाख भन्दा बढि पशु निको भएको र एक लाख भन्दा बढि पशुलाई खोप लगाइसकिएको छ ।

औपचारिक रुपमा २६ हजार पशु मरेको भनिए पनि अनौपचारिक रुपमा मृत्यु हुने पशु चौपायाहरुको संख्या ५० हजार माथि पुगेको अनुमान छ । यसबाट करिब एक खर्ब क्षति पुग्ने अनुमान गरिएको छ । पशुसेवा विभागका अनुसार हालसम्म २२ अर्ब ५० करोड भन्दा बढिको क्षति भएको छ । यद्यपि देशैभरि मरेको पशुहरुबाट किसानले करिब ५० अर्बको क्षति व्यहोरोको अनुमान छ ।

संघले भोलि पनि लगातार आन्दोलन जारी राख्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*