भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । सो अनुसार नेपालमा मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले समायोजन गरेको छैन ।
हाल काठमाण्डौ उपत्यकामा प्रतिलिटर पेट्रोलको १६७।५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७।५० रुपैयाँ तोकिएको छ। आईओसीबाट हिजो प्राप्त नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ५० करोड रुपैयाँ नाफा हुनेछ।
यसैबीच निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। जसअनुसार भारतबाट आउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य तोक्नेछ।
निगमका अनुसार भारतबाट घटेर आएमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा पनि स्वतः घट्छ। यसको अर्थ अब पेट्रोलको भाउ घट्ने र डिजेलको भाउ बढ्न सक्नेछन्। तर, यसबारे निगमले निर्णय गरिसकेको छैन।