नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतापश्चात् सहकारी बैंकका सबै शाखामार्फत सहजै रेमिट्यान्स् प्राप्त गर्न सकिने भएको छ ।
उक्त सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले बिभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउन सकिने भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले हस्ताक्षर गरेका छन् ।
नेपालको पुरानो र विश्वसनिय रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिएका छन् ।
नेपालमा सहकारीको शुरुवात भएको ६ वर्षपछि अर्थात वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुनपुग्यो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो ।
नेपाल सरकारको १ करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भएको थियो । बैंकले आफ्ना सदस्य सहकारी संंघ संंस्थाहरूबीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरी आफ्नो कारोबार गर्दै आएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।