अख्तियारद्वारा नापी अधिकृत पुरीको सम्पत्ति छानविन, १ करोड माथिको भष्ट्राचार गरेको खुलासा

१४ श्रावण २०८०, आईतवार १६:३९

काठमाडौं । नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीको सम्पत्तिमा अख्तियारले छानविन गरेको छ । छानविनको क्रममा पुरीले १ करोड माथिको भष्ट्राचार गरेकोे खुलेको हो ।

नापी अधिकृत पुरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले पुरीको सम्पत्ति छानविन गरेको हो । अख्तियारले पुरीको सम्पूर्ण सम्पत्ति छानविन गर्दा १ करोड २० लाख ७७ हजार बराबरको आय प्राप्त गरेकोमा उनको खर्च तथा लगानी भने २ करोड २४ लाख ८१ हजार बराबरको देखिएको छ ।

अनुसन्धानबाट १ करोड ४ लाख ३ हजार बराबरको खर्च तथा लगानीको स्रोत नखुलेपछि पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको हो ।

साथै पुरीले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति उनकै श्रीमती श्रृजना गिरीको नाममा समेत राखेको अख्तियारको अनुसन्धानमा खुल्न आएको छ । अख्तियारले पुरीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*