तत्कालिन सेन्चुरी बैंकविरुद्ध ई. कँडेलले बहस गरेको रिटमाथिको आदेशको पूर्ण पाठ सार्वजनिक “एक करोड रुपैयाँ कर्जा हिनामिना प्रमाणित”

काठमाडौं । तत्कालिन सेन्चुरी बैंक (हालको प्रभु बैंक)ले गैर कानुनी कार्य गरेको भन्दै, नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाई ऋणीको नामबाट पब्लिक इन्नोभेटर ई. कँडेलले पाटन उच्च अदालतमा दायर गराएको रिट नं ०७८ डब्लु ओ ०४९६ नम्बरको रिटमा जारी आदेशको पूर्णपाठ आज सार्वजनिक गर्दै तत्कालिन सेन्चुरी बैंकबाट कर्जा प्रवाह गरिएको भनिएको एक करोड रकम सम्बन्धित पक्षले नपाएको तथ्य उजागर गरेका छन् ।
उच्च अदालत पाटनबाट जारी आदेशमा तत्कालिन सेन्चुरी बैंकमार्फत ग्राहकको नामबाट हाउजिङ कम्पनीमा प्रवाह गरेको भनिएको एक करोड रुपैयाँ कर्जा बापतको रकम सम्बन्धित कम्पनीले अदालतमा बुझाएको लिखित जवाफमा ‘निवेदकले एक करोड तीन लाख रुपैयाँ मात्रै बैना गरेको र अरु रकम बुझाउन सक्नु भएको छैन’ भन्ने उल्लेख हुनुले ऋण बापत प्रवाह भएको एक करोड रुपैयाँ बैंकभित्रै हिनामिना भएको तथ्य प्रमाणित भएको ई. कँडेलले बताए । यससँगै अब उक्त काण्ड बैंकिङ कसुरमा मुद्दा चल्ने लगभग निश्चित भएको छ । विगत दुई वर्षदेखि ई. कँडेलले तत्कालिन सेन्चुरी बैंकबाट प्रवाह भएको भनिएको कर्जा सम्बन्धित पक्षले नपाएको र हिनामिना भएको दावी गर्दै आएका थिए । कँडेलको दावी उच्च अदालत पाटनबाट जारी आदेशको बुँदा नं ७ बाट स्पष्ट रुपमा प्रमाणित भएको छ ।
न्यायाधिश टेक प्रसाद ढुंगाना र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलाशले गरेको आदेशको पूर्णपाठ बीमापोष्टलाई प्राप्त भएको छ । आदेशको पूर्ण पाठमा तत्कालिन सेन्चुरी बैंकबाट प्रवाह भएको भनिएको एक करोड रुपैयाँ कर्जा नै प्रवाह नभएको तथ्य खुलेको हो ।
ग्राहक, इमाडोलमा घर विकास गर्दै गरेको एक हाउजिङ कम्पनी र तत्कालिन सेन्चुरी बैंकबीचमा त्रिपक्षीय करारनामा अनुसार बैंकबाट कर्जा दिनुमिल्छ भन्दै सबै कागजात गोप्य राखेर, बाँकी काम हामी हाउजिङसँग गर्छौ भन्दै हस्ताक्षर गराई, ऋण खाता खोली बैंकले विगत चार वर्षदेखि किस्ता असुल गर्दै आएको थियो ।
सेन्चुरी बैंकले अदालतमा बुझाएको लिखित जवाफमा समेत ग्राहकको कर्जा खाता …. ९४ एच एल बाट उक्त रकम भुक्तानी भएको उल्लेख छ तर कुन खाता, कुन कम्पनीको खाता भन्ने उल्लेख नगर्नुले बैंकभित्र ऋण बापतको रकम हिनामिना भएको तथ्य पुष्टि गरेको छ ।
सो सम्बन्धमा भएको मुद्दामाथि उच्च अदालतमा निकै गरमागरम बहस भएको थियो । सो क्रममा पब्लिक इन्नोभेटर ई. कँडेलले तत्कालिन सेन्चुरी बैंकबाट प्रवाह भएको कर्जा कुन खातामा कर्जा प्रवाह भएको हो ? सो प्रमाण देखाउन चुनौति दिएका थिए । पक्षले प्रश्न उठाएपछि अदालतका न्यायाधिशले कर्जा प्रवाह भएको सक्कल फाइल इजलाश समक्ष देखाउन ल्याउन समेत आदेशहरु दिएका थिए । तर, सो आदेश कार्यान्वयन नगरी तत्कालिन सेन्चुरी बैंकले आलटाल गरेको थियो ।
पब्लिक इन्नोभेटर ई. कँडेलले घटनामा संलग्न तत्कालिन सेन्चुरी बैंक (हालको प्रभु बैंक) का सम्बन्धित कर्मचारी र अन्य सम्बन्धित व्यक्तिको नामै किटान गरी विभागीय कारवाही तथा कानुनी कारवाहीको लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।











