नेपाल–इन्डिया सन्धिको धारा १ र ८ पालना गरेर ग्रेटर नेपाल फिर्ता ल्याउनुपर्छः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

१६ श्रावण २०८०, मंगलवार १२:५६

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालले असार १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ तथा धारा १ विगत ७३ वर्षदेखि दुवै मुलुकका सरकारले नियतवश पालना नगरेर ग्रेटर नेपालको सिमाना कायम हुन नदिएको दाबी गरेको छ ।

नेपालका तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री मोहन शम्शेर र नेपालका लागि इन्डियाली राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिन्हाले सन १९५० जुलाई ३१ मा हस्ताक्षर गरेको उक्त सन्धि ७३ वर्ष पुगेको छ ।

सोही दश सूत्रीय सन्धिको धारा ८ ले नेपाल र ग्रेट ब्रिटेनबीच यो मितिभन्दा पहिले भएका सबै सन्धि–सम्झौताहरु रद्द गरेको थियो । जसबाट नेपाल र ग्रेट ब्रिटेनबीच सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धि पनि स्वतः रद्द भएको पुष्टि हुने मोर्चाले दाबी गरेको छ ।

तर, दुवै देशका सरकारहरुको अवाञ्छित स्वार्थका कारण यस विषयलाई कुनै महत्त्व नदिई उक्त सन्धिमा सिमानाको कुनै कुरा उल्लेख नभएको भनि गलत प्रचार गरेको भन्दै मोर्चाले आरोप समेत लगाएको छ । सोही सन्धिको पहिलो धाराअनुसार भने एकअर्काको पूर्ण सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रतालाई दुवै सरकारले मन्जुर गर्ने भनि सम्झौता भएको कुरा मोर्चाले स्पष्ट पारेको छ ।

यसबाट नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गङ्गा नदीको उत्तरी मैदानसम्म विस्तारित हुने मोर्चाले दाबी गरेको छ । सन्धिको ८ धाराको पालना भएको र वाँकी धारा १ र धारा ८ को पालना नभएको भन्दै मोर्चाले आपत्ति समेत जनाएको छ ।

साथै, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल र इन्डियाका दुवै सरकारले सन्धिको धारा ८ तथा १ को अक्षरंश पालना गरी ग्रेटर नेपालको सिमाना पुनः कायम गर्नुपर्नेभन्दै जोरदार माग गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*