साझा भण्डार सहकारीका तत्कालिन अध्यक्ष खड्कासहित नौ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२५ श्रावण २०८०, बिहीबार १७:५८

काठमाडौं । संस्थाको नाममा रहेको जग्गा गैरकानुनी तरिकाले व्यक्तिलाई बेचेको आरोपमा अख्तियारले सहकारीका तत्कालिन अध्यक्षसहित अन्य ९ जना विरुद्ध ४ करोडको विगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारीका तत्कालिन अध्यक्ष जयकुमार खड्कासहित संचालक समितिका तत्कालिन सदस्यहरु आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

साझा भण्डार सहकारी संस्था, भोटाहिटी–काठमाडौंको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ को दुई आना जग्गा र बाँकेको साबिक कोहलपुर गाविस–३(क) को दुई आना १७ पैसा जग्गा गैरकानुनी तरिकाले व्यक्तिलाई बेचेको दाबी अख्तियारले गरेको छ ।

बिना आधार तथा हँचुवाको भरमा अत्यन्त कम मूल्यमा व्यक्तिलाई बिक्री गरी संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँको हानिनोक्सानी पुर्याएको अख्तियारले दाबी गरेको छ ।

त्यस्तै, सहकारीका नाममा बाँकेको जग्गा बिक्री गर्ने निर्णय गरेको आरोपमा अख्तियारले सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्यलाई पनि ४ लाख २४ हजार १८१ रुपैयाँको एकल बिगो कायम गरी प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

सहकारीको नाममा रहेको साविक कटकुवा गाविस वडा नं. ९ तथा हाल वीरेन्द्रनगर नपा वडा नं. ८ को जग्गा सरोकार नभएका व्यक्तिसमेतको नागरिकताको प्रतिलिपि बनाई उनीहरुको मञ्जुरीविना बोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई सुनियोजित ढङ्गले न्यून मूल्यमा जग्गा खरिद गरी आफन्तको नाममा राखेको आरोपमा दैलेखको नारायण नपा–१ स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नपा–३ बाँसबारीकी गीताकुमारी शाहीविरुद्ध ३ लाख ३० हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

त्यस्तै यही आरोपमा कोहलपुर नपा–११ का सुरोज गिरीले सहकारीको नाममा रहेको बाँकेको जग्गा खरिद गरी संस्थालाई ४ करोड ९४ हजार १८१ को नोक्सानी पुर्याएको अख्तियारले ठहर गरी सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*