पशुपति सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर

२८ श्रावण २०८०, आईतवार १४:४०

काठमाडौं । इलाम, माई नगरपालिका वडा नं. १ र ३ स्थित पशुपति सामुदायिक वनको आम्दानी हिनामिना गरेको आरोपमा अध्यक्ष कुमार बहादुर बराईलीसहित ८ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बराईलीले प्रक्रिया नपुर्याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णय बिना आफू अनुकूल कागजाग तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई पुल निर्माणमा खर्च भएको भनी ४ लाख र किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाई, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन समूहको ११ लाख ५ हजार ९३० समेत गरी कुल १५ लाख ५ हजार ९३० रुपैयाँ भष्ट्राचार गरेको दावी अख्तियारले गरेको छ ।

अध्यक्ष बराईलीलाई १५ लाख ५ हजार ९३० रकम बिगो कायम गरी कैद र जरिवाना माग सहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, उक्त भष्ट्राचारमा झुट्ठा बिल बनाई भरपाई पेश गर्ने तत्कालिन सल्लाहकार समूह संयोजक अर्जुन कुमार थापा र तत्कालिन कोषाध्यक्ष राम कुमारी खत्रीलाई ४ लाख रुपैयाँ बिगो कायम गरी र इस्टिमेट, प्राविधिक बिल भरपाई नराखि कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी भरपाई गरी झुट्ठा बिल बनाई भुक्तानीका लागि पेश गर्ने उक्त समूहका उपभोक्ता तथा चिलाउने गौडा हिले खोला क्रसिङ्ग फुटपात पुलका अध्यक्ष दिल बहादुर मगर र सोही समूहका उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईलीलाई ४ लाख रुपैया विगो कायम गरी कैद र जरिवाना मागसहित अख्तियारले मुद्दा दायर गरेको छ ।

उक्त समूहसँग मिलेमतो गरी नभएको कुरा देखाई लेखापरीक्षण प्रतिवेदन पेश गर्ने दर्तावाला लेखापरीक्षक चन्द्र बहादुर बस्नेत तथा किर्ते कागजात तयार गरी कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरीे झुट्ठा बिल भरपाई पेश गर्ने पशुपति सामुदायिक वन उपभोक्ता समूहका तत्कालिन सचिव राम बहादुर मगर र सोही समूहका तत्कालिन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठलाई ११ लाख ५ हजार ९३० रकम बिगो कायम गरी कैद र जरिवाना माग सहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*