१५५ किलो ‘ब्रेक सु’ बाट बरामद गरेको सुन जोख्दा ६० किलो हाराहारी मात्र

२९ श्रावण २०८०, सोमबार १९:११

काठमाडौं । । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन जोख्दा ६० किलो हाराहारी मात्र भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सु बाट छुट्टयाएर जोख्दा सुन ६० किलो ७८९ ग्राम भएको हो ।

राजस्व अनुसन्धान विभागले साउन २ गते राति सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसबेला ब्रेक सु सहित तौल लिइएकोमा आज सुन मात्र निकालेर जोखिएको हो ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो ।

साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए । तर, उनको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको हो ।

सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*