बीमा रकम लिन ललितपुरको नख्खु खोलामा आफ्नै टिपरमा आगजनी, तीन जना पक्राउ

३२ श्रावण २०८०, बिहीबार ०६:३४

काठमाडौं । पछिल्लो समय बीमा दावी भुक्तानीको लाभ लिन अपराधिक गतिविधि गर्ने क्रम ह्वात्तै बढेको छ । ज्युँदो मानिसको जीवन बीमा गरी मानिस मार्ने प्रचलन बढिरहेको सन्दर्भमा राजधानी उपत्यकाकै ललितपुरको नख्खु खोलामा टिपरमा आगो लगाएर बीमा दावी भुक्तानी लिन खोजेको भेटिएको छ ।

ललितपुर प्रहरी परिसर जवलाखेलले ठेचोस्थित नख्खुु खोलाको खोँचमा बिग्रेको टिपरमा आगो लगाई झुक्याएर बीमा दावी भुक्तानी लिन खोजेको आरोपमा टिपर मालिकसहित घटनामा संलग्न तीन जना व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ ।

आपराधिक कार्य गरी बीमा लाभ लिन खोजेको आरोपमा पक्राउ पर्नेहरुमा रामेछाप जिल्लाको मन्थली घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्री टिपर मालिक, चालक टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुली घर भई हाल ललितपुरको टिकाथलीमा बस्ने रंगबहादुर बुढाक्षेत्री रहेका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रदीपकुमार खत्रीको नाममा रहेको बा ३ ख २८९४ नम्बरको टिपरमा बिग्र्रेर बनाउन नसकी थन्किएको अवस्थामा बीमा दावी भुक्तानी लिई लाभ लिने उद्देश्यले २०८० साउन १२ गते राति आफैले आगो लगााएको अभियुक्तहरुले स्वीकार गरेका छन् ।

टिकाभैरवको गिट्टी बालुवा बोक्दै आएको टिपर नख्खु खोलामा बिग्रेको थियो । आर्थिक मन्दीका कारण आम्दानी न्यून भएकोले मर्मत गर्न नसकेपछि आफैले आगो लगाएर प्रहरीमा जाहेरी दिएका थिए । पछि प्रहरीमा बीमा दावीको लागि प्रतिवेदन माग गर्न जाँदा अनुसन्धान सुरु गर्दा घट्ना सेटिङमा भएको तथ्य खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर प्रहरीको सक्रियताले घटनाका अभियुक्तहरु कानुनी कारवाहीको दायरामा आएका छन् भने निर्जीवन बीमा कम्पनीको लाखौं रुपैयाँ बचेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*