ललितपुरका नापी अधिकृत राजन गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१० भाद्र २०८०, आईतवार १८:२७

काठमाडौं । ललितपुरको साविक टीकाथली– ६ स्थित कित्ता नम्बर १६९९ र १७०१ को जग्गा कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा नापी अधिकृत राजन गिरीसहित अन्य ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा राउसाई होल्डिङ्स प्रा.लि., ललितपुर– २ सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठ विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

’तोकिएको न्यूनतम् मापदण्डभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानूनी व्यवस्थाविपरीत कम क्षेत्रफलका कित्ताहरू कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढी कायम गरी टायल चेक गरी बढाएको,’ अभियोग अख्तियारले उनीहरुमाथि लगाएको छ ।

अख्तियारले सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा कैद सहित जरिवानाको माग गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*