नाडा अटो शो भदौको तेस्रो सातादेखि सुरु

११ भाद्र २०८०, सोमबार १४:२८

काठमााडौं । भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा १६ वटा चार पाङ्ग्रे र २२ ओटा दुई पाङग्रे ब्राण्ड रहने भएका छन् ।सोमबार पत्रकार सम्मेलन गर्दै नाडा अटोमोबाइल्स् एसोशियसन नेपालले सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औं संस्करण टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित “नाडा अटो शो २०२३” आयोजना गर्ने बताएको हो ।

नाडाका अध्यक्ष ध्रुब थापाले हाल विद्यमान बजार शुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने बताए । उनले भन्सारमा हजारौं गाडी रोकिएको अबस्थामा पनि नाडाले यो अटो शो गर्न लागेको बताउँदै अटो बजारको व्यापारमा केही हदसम्म चलाएमान हुने अपेक्षा रहेको बताए ।

टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याई रहेको छ । नाडाले नेपाली महान चाड(पर्वहरुको पूवार्द्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, अटोमोबाइलसंग प्रत्यक्ष(अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने दाबी गरेको छ ।

नाडा अटोशोले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने नाडाले जनाएको छ । प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट(पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक र वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्रि, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रदर्शनीलाई वढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्री पछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*