साउन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छलाङ, गत वर्षको तुलनामा प्रभु इन्स्योरेन्सको उल्लेख्य प्रगति

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको तथ्याङ्क विश्लेषणमा सगरमाथा इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको देखिएकोछ । नियामक नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार समग्र निर्जीवन बीमा व्यवसाय ११.०९ प्रतिशतले घटेको देखिएको छ । तथ्याङ्क अनुसार अघिल्लो आवको साउन महिनामा चार अर्ब ४८ करोड २९ लाख रुपैयाँको व्यवसाय भएकोमा चालु आवमा जम्मा तीन अर्ब ९८ करोड ५८ लाख रुपैयाँको निर्जीवन बीमा व्यवसाय भएको छ ।
तथ्याङ्क अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आवको तुलनामा १० प्रतिशत व्यवसाय बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवको साउन महिनामा ४९ करोड ९७ लाख रुपैयाँको व्यवसाय गरेको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेर प्रथम हुन पुगेको छ ।
त्यस्तै, दोस्रो सथनमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय १८ प्रतिशतले घटेर ५१ करोडबाट झरेर ४२ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै, तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३३ करोडबाट सामान्य अंकले बृद्धि भई ३४ करोड ३७ लाख पुगेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३५ करोड ५२ लाख रुपैयाँबाट तल झरेर ३३ करोड ६८ लाखमा सीमित हुन पुगेको छ । कम्पनीको व्यवसाय ५.१८ प्रतिशतले तल झरेको देखिएको छ ।
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ३.६८ प्रतिशतले बृद्धि भई २९ करोड ३२ लाखबाट झरेर ३० करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी ८५ करोडबाट तल झरेर २९ करोड ४४ लाखमा सीमित भएको छ । त्यस्तै, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी स्थीर २६ करोड ५५ लाखबाट २६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
बृद्धिदरको आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा उत्कृष्ट बृद्धि भएको तथ्याङ्कले देखाएको छ । गत आवमो जम्मा १० करोड ३४ लाख रुपैयाँको बीमा व्यवसाय गरेको कम्पनीले चालु आवको पहिलो महिनामा २५ करोड छ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेर उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको व्यवसाय ७.८१ प्रतिशतले घटेर २४ करोडमा सीमति भएकोछ भने एनएलजी इन्स्योरेन्स कम्पनीको व्यवसाय ४.५३ प्रतिशतले बृद्धि भई २४ करोड आठ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
भारतीय बीमा कम्पनी दि ओरियन्टल बीमा कम्पनीको व्यवसाय पनि बृद्धि भएको छ । त्यस्तै, सानिमा जिआईसीको व्यवसाय २२ करोड ६० लाखबाट तल झरेर १७ करोड ८८ लाख रुपैयाँमा सीमित हुन आएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको व्यवसाय ११.०९ प्रतिशतले तल झरेर १६ करोडबाट १४ करोड १९ लाखमा सीमित हुन पुगेको छ ।












