युवाले ठूला सपना देख्नु पर्छः एनसेल सीईओ जाब्बोर

१३ भाद्र २०८०, बुधबार १२:५२

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गरेका छन् । युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरूको सहभागिता थियो ।

यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो । जाब्बोरले कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागिता जनाएका थिए । १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुको सो भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न प्रेरित गरेका छन् ।

जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरेका छन् । उनले भने, “प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।”

उत्साही युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनु पर्ने बताए । “यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्नु पर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।”

कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता वक्ताहरू थिए ।

“व्यक्तिगत रूपमा युवाहरूसँग जोडिन पाएकोमा र उहाँहरूको ऊर्जा देखेर म साँच्चै प्रेरित भएको छु । यस किसिमको सम्मेलनले युवा प्रतिभाहरूको प्रवर्द्धनमा सहयोग गर्ने एनसेलको प्रतिबद्घतालाई बढावा दिन्छ,” जाब्बोरले भने, “यस मञ्चमा आएर युवाहरूलाई प्रेरणास्वरूप केही कुरा राख्न पाएकोमा केवाईसी आयोजकप्रति आभारी छु ।”

विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*