सप्तरी बोदेबर्साइन नगरपालिकाका मेयर सिंहसहित ८ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७।७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरि विनियोजन गरेको बजेट कुनै काम नै नगरी काम गरेको भन्दै झुट्टा बिल बनाई माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरेको अनुसन्धानमा खुल्न आएको छ ।
उक्त भ्रष्टाचारमा संलग्न बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह, पशु विकास अधिकृत (छैटौं) अर्जुन प्रसाद यादव, सोही नगरपालिकाका वडा नं. ४ का तत्कालिन वडा अध्यक्ष रामानन्द चौधरी, तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मंडल र माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्मालाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ विगो कायम गरी सजायको मागदावीसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।