देश ईभीमय बन्दै छः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बस्नेत
काठमाडौं । भृकुटीमन्डप, काठमाडौंमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी मेलाको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले देश ईभीमय बन्दै गएको बताएका हुन् ।
उक्त प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले देश ईभीमय बन्दै गएको र देशमै उत्पादन हुने विद्युतीय उपकरणलाई जोड दिने बताएका छन् । ‘सबैको लागि ऊर्जा विकास र समृद्धिका लागि ऊर्जा’ भन्ने एजेन्डा अन्तर्गत विद्युतीय उपकरणलाई प्राथमिकता दिदै देशको अर्थ व्यवस्थालाई सुदृढ बनाउने बस्नेतले उल्लेख गरेका छन् । कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले आगामी संसदको बैठकमा विद्युत विधेयक पेश गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
बस्नेतले प्रदर्शनीमा राखिएको सबै विद्युतीय सामग्री एवम् उपकरणहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको बताएका छन् ।
भदौ १५ गतेदेखि १७ गतेसम्म भृकुटीमन्डपमा हुने उक्त प्रदर्शनीले देशमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमाबट उपभोगलाई बढाउदै देशलाई आर्थिक रुपमा सशक्त बनाउने लक्ष्य राखेको छ ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिएका छन् ।
प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर साइकल तथा मोटरसाइकल, रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणका साथै अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको छ ।
उक्त प्रदर्शनी मेला मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजनामा संचालन गरिएको हो ।