दानपत्रबाट निःशुल्क पाएको जग्गा ६ लाखमा खरिद गरेको भन्दै नगद भुक्तानी लिने तत्कालिन वडाध्यक्ष बस्नेत अख्तियारको फन्दामा

काठमाडौं । सोलुखुम्बुमा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने क्रममा दानपत्रबाट निःशुल्क प्राप्त गरेको जग्गालाई ६ लाखमा खरिद गरेको भन्दै नगद भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन वडाध्यक्ष रमेश कुमार बस्नेतसहित तीनजना विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सोलुखुम्बु, लिखुपिके गाँउपालिका वडा नं. २ का तत्कालिन वडाध्यक्ष बस्नेतले भवन निर्माणको लागि निःशुल्क प्राप्त गरेको जग्गालाई ६ लाख रुपैयाँमा खरिद गरको भन्दै ६ लाख नगद भुक्तानी लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै, लिखुपिके गाँउपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखापाल जिवन सुवेदीले दानपत्रबाट जग्गा रजिष्ट्रेशन पास भएको कागजात देखिदासमेत जग्गा खरिद गरेको भनि व्यहोरा उल्लेख गरि बिल बनाई भुक्तानी लिन सहयोग गरेको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष बस्नेतसहित भण्डारी र सुवेदीलाई ६ लाख रुपैयाँ विगो कायम गरि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।












