३४ हजार बीमितलाई दावी भुक्तानी, प्रभु, शिखर र सिद्धार्थ प्रिमियर बीमितमैत्री बन्दै, अन्यको कति ? (सूचीसहित)

राजन कठायत
९ मंसिर २०८०, शनिबार १२:०५

काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ कम्पनीहरुले पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । जसमा नेको इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छैन् ।

सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीले ३४ हजार बढी जना बीमितलाई बीमा दावी भुक्तानी गरेको छ । चालु आर्थिक ०८०।०८१ को पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले ३४ हजार ३१ जनालाई बीमा दावी भुक्तानी गरेको हो ।

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले बीमा दावी भुक्तानी गर्ने संख्या ३७.१७ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २४ हजार ८०९ जनालाई बीमा दावी भुक्तानी गरेका थिए ।

पहिलो त्रैमासको तथ्यांक केलाउदा नियामक निकाय बीमा प्राधिकरणको बीमा दावी वर्ष सार्थक बनाउन प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जोड गरेको देखिन्छ । बीमा प्राधिकरणले आम सर्वसाधारणमा बीमाको पहुँच बिस्तार गर्न बीमा दावी भुक्तानी सहज र सरलीकृत हुनुपर्छ भन्दै आइरहेको छ ।

आम जनमानसमा बीमा दावी भुक्तानी रकम समयमा नपाउने र प्रक्रियागत झन्झटलाई लिएर बीमा गर्न समेत हिच्किचाहत गर्ने अवस्थामा पुगिसकेको हुदा अझै पनि यस्तो समस्या निराकरण नहुदा बीमाप्रतिको विश्वास नै नरहने भन्दै प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस विषयमा केन्द्रित भएर लाग्न समेत निर्देशन दिई सकेको छ ।

बीमा कम्पनीहरुले प्राधिकरणको बीमा दावी वर्ष सफलताका साथ अघि बढाउन लागि रहेपनि पूराना दावीको कारण समस्या निरन्तर रहीरहेको बीमाकर्मीहरु बताउन्छन् ।

पछिल्लो समय बीमा प्राधिकरणको नियमन र कम्पनीहरुको प्रतिस्प्रधा तथा जनचेतनाका कारण कम्पनीहरुले गर्ने दावी भुक्तानीको संख्या बृद्धि भएको छ । बीमितहरुले पनि समयमा आफ्नो दावी भुक्तानी पाएको खण्डमा मात्रै बीमा कम्पनीहरुप्रति विश्वास गर्ने प्रबृद्धि रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रभु इन्स्योरेन्सले सबैभन्दा बढी बीमितलाई दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा पाँच हजार १७ जनालाई बीमा दावी भुक्तानी गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको बीमा दावी भूक्तानी ५.४८ प्रतिशतले बृद्धि भई चार हजार ७३० जनाबाट चार हजार ९८९ जनालाई बीमा दावी भुक्तानी गरेको छ ।

साथै, सिद्धार्थ प्रिमियरले तीन हजार ८६४ जना, सगरमाथा लुम्बिनीले तीन हजार ८५७ जना, आइजिआई प्रुडेन्सियलले तीन हजार ६१६ जना, एनएलजीले तीन हजार १०१ जनालाई प्रथम त्रैमासमा दावी भुक्तानी गरेको छ । बाँकी रहेका बीमा कम्पनीहरुले तीन हजार जना भन्दा मुनीलाई दावी भुक्तानी गरेका छन् ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा सबैभन्दा कम बीमितलाई दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा जम्मा २६३ जनालाई मात्र बीमा दावी भुक्तानी गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको दावी भुक्तानी सबैभन्दा बढी रहेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको दावी भुक्तानी १८६ प्रतिशतले बृद्धि भएको छ ।

साथै, सानिमा जिआइसीको १३१ प्रतिशत, युनाइटेड अजोडको १२५ प्रतिशत, सगरमाथा लुम्बिनीको ८० प्रतिशतले बीमा दावी भुक्तानी गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*