नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी, दाबी भुक्तानी र रक्षावरणको व्यवस्था कस्ता छन् ?

६ पुष २०८०, शुक्रबार १५:५७

काठमाडौं । लामो समयदेखि अध्ययनपछि नेपाल बीमा प्राधिकरणले नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी गरेको छ। बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरुको बीमा गरीने उल्लेख भएको थियो ।अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको बीमा गर्ने व्यवस्था मिलाउने सो बजेटमा उल्लेख थियो । त्यस पश्चात बीमा प्राधिकरण यस प्रकारको बीमालेख बनाउन लागि परेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), बीमा कम्पनीहरु र सरकारवालासँगको लामो छलफलपछि प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् ।

बजेटमा उक्त प्रकारको बीमाको कुरा उल्लेख भएपछि त्यसको कार्यन्वयन गर्ने काम प्राधिकरणको भएकाले सोहि अनुसार प्राधिकरणले लामो छलफल पछि बीमालेख निर्माण गरि जारी गरेको हो ।
खेलकुद बीमालेखले गर्दा खेलाडीमा उत्प्रेरणा जागृत गर्ने र त्यसको असर खेलमा देखिने विश्वस्त गरिएको उपनिर्देशक अधिकारी बताउछन् । यस प्रकारको बीमा संघहरुले ग्रुपमा नै गर्ने र व्यक्तिगत रुपमा पनि गर्न सकिने उनले जानकारी दिए ।

यस बीमालेखले खेलाडी, रेफ्री, प्रशिक्षक, खेलकुदका व्यवस्थापक र सम्पूर्ण पदाधिकारीहरुलाई निश्चिन्त भएर खेलकुदमा लाग्ने वातावरण निर्माण भएको सदस्य सचिव घिसिङ बताउछन् । यस अघि खेलाडीहरुले स्वास्थ बीमा र दुर्घटना बीमाले काम चलाईरहेको अवस्था रहेको उनको भनाई छ । उक्त बीमालेख खेलाडीहरुको लागि प्रयाप्त नभएकोले अब खेलकुद बीमालेखले खेलाडीको थप सुरक्षा गर्ने उनले उल्लेख गरे ।

प्राधिकरणले जारी गरेको उक्त खेलकुद बीमालेखमा ५१ वटा खेलका खेलाडी तथा प्रशिक्षण(कोच)ले बीमा गर्न पाउछन् । जहाँ चेस(बुद्धिचाल) देखि क्रिकेट, फुटबल हुदै प्याराग्लाईडिङसम्मको खेलका लागि बीमा गर्न सकिन्छ । ५१ वटा खेललाई पनि जोखिमका आधारमा ३ क्याटोगोरिमा छुट्याईएको छ । न्यून जोखिम, सामान्य जोखिम र जोखिम युक्त ।

यी ३ क्याटोगोरिको बीमादर पनि फरक फरक छ । न्यून जोखिम अन्तर्गत रहेका खेलका लागि बीमाशुल्क २ रुपैयाँ प्रति हजार तोकिएको छ। त्यसैगरी, सामान्य जोखिमका लागि २ रुपैयाँ ५० पैशा प्रति हजार र जोखिम युक्तका लागि ३ रुपैयाँ प्रतिहजार बीमाशुल्क तोकिएको छ । न्युन जोखिममा १४ वटा खेलहरु रहेका छन् भने सामान्य जोखिममा २४ र जोखिम युक्तमा १३ वटा खेलहरु रहेका छन् ।

न्यून जोखिम रहेका खेलहरु

टेवल टेनिस, सफ्ट टेनिस, टेनिस, शुटिङ्ग, गल्फ, बडीविल्डिङ एण्ड फिटनेश, स्क्वाक्स राकेट्, बुद्धिचाल, विलियर्ड, स्नूकर तथा पुल, बलिङ्ग, टग् अफ वार, रोप स्किपीङ्ग, आर्चरी, योग खेलकुद
सामान्य जोखिममा पर्ने खेलहरु

सार्ईक्लिङ, कुश्ती, फुल कन्ट्याक कराते, बक्सिङग, उसु, नेक्वान्दो, कराते, रिङ्ग रेष्ट्लिङ्ग, खो खो, कबड्डी, ट्रयाथलन, भारात्तोलोन, सेपाक ताक्रो, पौडी, बास्केटबल, ह्यान्डबल, जिम्यास्टिक, व्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ्ग र जुडो

जोखिमयूक्तमा पर्ने खेलहरु

इक्विट्रियन, मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफिटक्यानोइ, प्याराग्लाइडिङ्ग ह्याङ्ग्ङ्गग्लाइडिङ्ग, क्लाईविङ्ग, पेटाथोलन, बञ्जी जम्पिङ्ग एण्ड क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ्ग, आईस हक्की एण्ड अल्पाइन स्पोर्टस, वाटर स्पोर्टस, रग्बी, फुटबल

बीमालेख अवधि

८ दिनदेखि ३० दिनसम्मको गर्दा ३ रुपैयाँको २५ प्रतिशत बीमाशुल्क लाग्छ

३१ दिनदेखि ९० दिनसम्मको लागि ३ रुपैयाँको ४० प्रतिशत

९१ दिनदेखि १८३ दिनसम्मको ३ रुपैयाँको ६० प्रतिशत

१८४ दिनदेखि ३६५ दिनसम्मको ३ रुपैयाँको शतप्रतिशत शुल्क लाग्छ ।

दाबी भुक्तानी

उक्त बीमालेख अन्तर्गत मृत्युको हकमा बीमाङ्क रकम सहित पार्थिव शरीर व्यवस्थापन खर्च र काज किरिया खर्च पनि बीमक कम्पनीले बीमितको परिवारलाई दिने गर्दछ । काज किरिया खर्च बीमाङ्क रकमको १० प्रतिशत वा ५० हजार रुपैयाँमा जुन कम हुन्छ सोहि बराबर रकम कम्पनीले दिनेछ ।

त्यसैगरी, पार्थिव शरिर व्यवस्थापन खर्च बीमाङ्क रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमा जुन कम हुन्छ सोहि बराबर रकम कम्पनीले दिनेछ ।

यसैगरी दुर्घटना अन्तर्गत पनि कम्पनीले अवस्था हेरेर सोहि अनुसार दावी रकम भुक्तानी गर्ने बीमालेखमा उल्लेख छ । जस्तै बीमितको मेरुदण्ड ठिक नहुने गरी काम नलाग्ने भएमा बीमाङ्क रकमको शतप्रतिशत कम्पनीले भुक्तानी गर्नेछ । त्यसैगरी, २ वटै हात पुरै काम नलाग्ने भएमा वा २ वटै खुट्टा पुरै काम नलाग्ने भएमा पनि कम्पनीले शतप्रतिशत रकम भुक्तानी दिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*