अर्थतन्त्रमा सुधार आँउदै, मंसिरमा मूल्यबृद्धि ह्वातै घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंसिरमा मूल्यबृद्धि ह्वातै घटेको छ। केन्द्रीय बैंकले प्रकाशित गरेको मासिक विवरण अनुसार २०८० मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।९५ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।३८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५।१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।८४ प्रतिशत रहेको छ ।
२०८० मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको छ ।
वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर महिनामा आयात मूल्य सूचकाङ्क ३।३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मुद्रास्फीतिमा कमी ल्याउन सहयोग पुगेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३।६६ प्रतिशत, ८।३७ प्रतिशत र ०।१३ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३७।२२ प्रतिशत, फलफूलको १३।३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३।२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११।३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०।५९ प्रतिशत र दाल तथा गेडागुडीको १०।५६ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २।४८ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२।८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ११।०३ प्रतिशत, शिक्षाको ८।९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५।२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४।९६ प्रतिशतले बढेको छ ।
२०८० मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५।४२ प्रतिशत, तराईको ४।२६ प्रतिशत, पहाडको ५।४२ प्रतिशत र हिमालको ७।४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६।५६ प्रतिशत, ८।०० प्रतिशत, ७।३२ प्रतिशत र ६।४८ प्रतिशत रहेको थियो।
२०८० मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २।६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९।१५ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४।४६ प्रतिशत, १।६८ प्रतिशत र २।५२ प्रतिशत रहेको छ ।
मंसिर महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०।६६ प्रतिशतलेघटेको छ ।
२०८० मंसिर महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५।६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ९।७३ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १।०५ प्रतिशत र ७।०५ प्रतिशतले बढेको छ ।












