निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने, अर्थमन्त्रालयद्धारा २ अर्ब रुपैयाँ निकासा

काठमाडौं। निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने भएको छ । निमार्ण व्यवसायीहरुको माग सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै अर्थमन्त्री डा प्रकाशशरण महतले केही बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएका हुन् ।
अर्थमन्त्री डा महतका अनुसार अर्थ मन्त्रालयले तालुकदार मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा गरेको छ । उनले भने, ‘मन्त्रालयले निर्माण व्यवसायीको बक्यौताबापतको २ अर्ब रुपैयाँ निकासा गरेको छ । थप पनि क्रमश हुनेछ ।’ गत साता प्रधानमन्त्रीले निर्माण व्यवसायीको बक्यौता रकम निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले माघको पहिलो सातासम्ममा सबै बक्यौताबापतको रकम निकासा गर्न निर्देशन गरेसँगै अर्थ मन्त्रालयले स्रोत जुटाएर भुक्तानी प्रक्रिया अघि बढाएको हो ।
अघिल्लो सरकारले स्रोत सुनिश्चितता मात्रै गरेर बजेट विनै अघि बढाएको आयोजनाको भुक्तानी हुन बाँकी छ । भुक्तानी रकम माग्दै निर्माण व्यवसायी महासङ्घकै नेतृत्वमा व्यवसायीहरू लामो समयदेखि आन्दोलनमा छन् । महासंघका अनुसार सरकारले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ ।
तर, अर्थ मन्त्रालय भने निर्माण व्यवसायीलाई सुरुवाती चरणमा ८ अर्ब रुपैयाँ भुक्तानी गर्ने गरी अघि बढेको छ । व्यवसायीलाई भुक्तानी गर्न रकम नभएपछि चालू आर्थिक वर्षको बजेट रकमान्तर गरिएको अर्थमन्त्री डा महतले बताए । उनका अनुसार बजेट रकमान्तर गरेर निर्माण व्यवसायीलाई अहिलेका लागि २ अर्ब रुपैयाँ भुक्तानी सुनिश्चित गरिएको हो । ‘












