१० हजार मेगावाट विद्युत् निर्यातसहित आन्तरिक खपत बढाए मुलुक आर्थिक रूपमा कोल्टे फेर्छः घिसिङ

५ माघ २०८०, शुक्रबार १६:१२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० हजार मेगावाट विद्युत् निर्यातसहित आन्तरिक खपत बढाउन सकेमा मुलुकले आर्थिक रूपमा कोल्टे फेर्ने बताए। बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

विद्युत् निर्यात बजारको रिस्क प्राधिकरणले लिएको भन्दै उनले यसको चिन्ता लिएर बस्नुपर्ने आवस्था नरहेको बताए ।प्रसारण लाइनको समस्या जग्गा तथा रुखका कारण रहे पनि त्यतिधेरै समस्या प्रसारण लाइन निर्माणमा पनि नरहेको उनको भनाई थियो। जलविद्युत्मा नेपाली पैसा लगानी गरेर विदेशी मुद्रा आजर्न गर्न सकिने भन्दै उनले यसमा हेजिङको समस्या रहेको बताए ।

वनको रुख काट्दा, जग्गा प्रयोग गर्दा समेत लगानी गर्नु परेको भन्दै घिसिङले प्रसारण लाइन निर्माणमा भन्दा बढी लगानी अरुमा नै परिरहेको बताए । प्रसारण लाइन निर्माणको भन्दा रुख र जग्गामा बढी लागत लागिरहेकाले यसलाई गम्भीर रुपमा लिन सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

प्रसारण लाइन निर्माणमा प्राधिकरणबाट कुनै समस्या नरहेको कार्यकारी निर्देशक घिसिङको भनाई थियो। प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि प्राधिकरणले सक्दो प्रयास गरेको पनि घिसिङले बताए।

त्यस्तै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले आयोगको काम नियमनको भए पनि सहजीकरणमा निकै भूमिका खेलिरहेको बताए। आयोगले पहल गर्दा नै विभिन्न आयोजनाहरूले प्राण पाएको सिंहको भनाई थियो। जलविद्युत् आयोजना निर्माण तथा विद्युत् उत्पादनका लागि उत्पादक र प्राधिकरणले नै समझदारी देखाउनुपर्ने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*