विवादित मन्त्री किरातीले भने-पशुपति हिन्दू विश्वविद्यालय बनाएरै छाड्छु

जग्गी वासुदेवले नलिएको गोठाटारको जग्गामा पशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने
७ माघ २०८०, आईतवार १६:५१

काठमाडौं । अभिव्यक्ति तथा कार्यशैलीका कारण विवादित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिन्दू विश्वविद्यालय नेपालको आवश्यकता भएको बताएका छन् ।

विभागीय मन्त्रालयमा आइतबार पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री किरातीले भाषा संग्रहालयका लोगि सोमबार नै भाषा म्यूजियम अध्ययन समिति बनाउने घोषणा समेत गरेका छन् । उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा हिन्दू विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौं । यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ । यसलाई पूर्ण तयारी र सञ्चालनसम्म लैजान पनि एउटा सानो समिति गठन गर्छौं । यहाँ संविधानबारे बोल्न पनि डराउनुपर्ने क्या ! मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने वित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो । मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् । म भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु । हिन्दू विश्वविद्यालय हामीलाई चाहिन्छ ।’

गोठाटारमा रहेको जग्गा यसअघि पशुपति क्षेत्र विकास कोषले ‘सदगुरु’ नामले परिचित जग्गी वासुदेवलाई लिङ्ग भैरवीको मूर्ति स्थापनाका लागि दिन खोजेको थियो । जग्गी वासुदेवले गोठाटार नभई पशुपतिनाथ परिसरभित्रै जग्गा मागेपछि त्यो योजना तुहिएको थियो । जग्गी वासुदेवको टोलीलाई पशुपतिनाथको जग्गा दिन नहुने भन्दै विरोध आएपछि उनले बसुन्धरामा कसैको निजी जग्गाभित्रै लिङ्ग भैरवीको मूर्तिस्थापना गरेका छन् । जहाँ युगल जोडीले पूजा गरे सम्बन्ध घनिभूत हुने तथा सम्पूर्ण मनोकांक्षा पूरा हुने प्रचार गरिएको छ । लिङ्ग भैरवीलाई ईश्वरीय स्त्री भन्ने गरिएको छ ।

सदगुरु जग्गी वासुदेव आफैंले काठमाडौं आएर लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । लिङ्ग भैरवी मन्दिर महिलाहरु द्वारा संचालित भएपनि दर्शनका लागि पुरुष पनि भित्र छिर्न पाउँछन् । पूजा सामग्री भने मन्दिरबाहिरबाट लैजान पाइँदैन ।

सन् २०१० मा सदगुरु जग्गी वासुदेवले इशा योग केन्द्र, कोइम्बटूर, भारतमा पहिलो लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । त्यसयता भारतको नयाँ दिल्ली, गोबी र सलेममा लिङ्ग भैरवीको मन्दिर स्थापना भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*