चीनबाट एमबीबीएस गरेको बताउने नक्कली डाक्टर पक्राउ

८ माघ २०८०, सोमबार १४:३१

काठमाडौं । धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका नक्कली डाक्टरलाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनी मोरङको विराटनगर महानगरपालिका –२ का हुन् ।

अहिलेसम्म सात सय जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान उनले प्रहरीलाई दिएका छन् । भट्टाचार्यले चीनबाट एमबीबीएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेको खुलेको छ ।

उनले नक्सालस्थित ‘वी केयर’मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका उनले यस्तो काम गरेको तीन वर्ष भएको पनि बयान दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*