पशुपति हिन्दू विश्वविद्यालय बनाउँछु भनेका मन्त्री किरातीलाई ठक्कर, लक्ष्मी पुनको नियुक्ति बदर

८ माघ २०८०, सोमबार १४:४७

काठमाडौं । विवादित संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई फेरि ठक्कर लागेको छ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरिदिएसँगै मन्त्री किरातीलाई ठक्कर लागेको हो ।

मन्त्री किराती कै सिफारिसमा गत पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध पुस २९ गते कोष कै भरत मरासिनीले रिट हालेका थिए ।

पाटन उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा, ‘विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव सो नियमावलीमा उल्लिखित योग्यता र अनुभवसँग प्रथम दृष्टिमा नै तादात्म्यता रहेको नदेखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको रूपमा नियुक्ति गर्ने गरी कोष परिषदले गरेको निर्णय र सो निर्णय बमोजिम दिएको नियुक्तिपत्र कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश गरिदिएको छ’ भनी उल्लेख छ ।

पुस ४ मा बसेको मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*