सवारी लाइसेन्सका लागि ट्रायल दिँदा अब आफ्नै गाडी प्रयोग गर्न पाइने

८ माघ २०८०, सोमबार १५:१९

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएसँगै यस्तो सुविधा पाइने भएको हो ।

सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई लिखितै निर्देशन दिएको बताइएको छ । परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा महँगो शुल्कको मार खेप्नु परेको गुनासो आएपछि सतर्कता केन्द्रले यस्तो निर्देशन दिएको हो ।

गुनासो सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारले यसअघि नै ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाइसकेको छ । उद्योग तथा यातायात मन्त्री सरोज थापाले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता हटाउन मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

अझै केही प्रदेशमा अझै ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता कायमै रहेपछि सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐन समेतलाई उद्दृत गरी स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानूनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको देखिँदैन ।

माघ ५ गतेको सचिवस्तरीय निर्णय र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को (छ) अनुसार सतर्कता केन्द्रले निर्देशन दिएको बताइएको छ ।

चिठीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई समेत दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*