आफन्त र आसेपासे भर्तीमा रेकर्ड तोड्दै मन्त्री किराती

८ माघ २०८०, सोमबार १६:११

काठमाडौं । आफ्नो विभागीय मन्त्रालयको हालीमुहाली चल्ने निकायलाई आफन्त तथा आसेपासे भर्ती केन्द्र बनाएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई ठक्करै ठक्कर लागेका छन् । यद्यपि, उनी यसअघिका मन्त्रीहरुको रेडर्क तोड्नतर्फ उद्दत छन् ।

उच्च अदालत पाटनले हालै पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरिदिएको छ । मन्त्री किराती कै प्रस्तावमा मन्त्रिपरिषदको बैठकले पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त गरेकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध पुस २९ गते कोषका भरत मरासिनीले रिट हालेका थिए ।

पाटन उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको नियुक्ति बदर भएको छ ।

यसअघि मन्त्री किरातीले पुस १ गते गोरखाकी स्मीता भट्टलाई लुम्बिनी विकास कोषको योजना प्रमुखमा नियुक्त गरेका थिए । कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको कार्यकाल ३ वर्ष बाँकी छँदै मन्त्री किरातीले भट्टलाई ५ वर्षका लागि नियुक्त गरेका थिए ।

भट्टको नियुक्तिविरुद्ध कोषका योजना प्रमुख भट्टराई सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले ११ पुसमा भट्टलाई काम गर्न रोक लगाउँदै भट्टराईलाई नै निरन्तरता दिन अन्तरिम आदेश दिएको थियो ।

३ महिना अगाडि मात्रै किरातीले कोष कै सदस्य विश्वराज पौडेललाई पनि हटाएर गोपीकृष्ण शर्मालाई ल्याएका थिए । पौडेल पनि सर्वोच्च दालतको अन्तरिम आदेशबाट फेरि। कोषमा फर्किएका छन् ।

लुम्बिनी क्षेत्र विकास कोषमा दुई जनालाई हटाएर आफन्त र आसेपासे नियुतिको प्रयास गरेका किराँतीको निर्णय एक पछि अर्को गर्दै असफल हुँदै गएका छन् । यद्यपि, उनले भर्ती रोकेका छैनन् । मन्त्री किराती कै जोडबलमा माघ ३ गते सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त भएका छन् ।

पुनको नियुक्ति भने महाप्रवन्धक अशोककुमार राईको ४ वर्षे कार्यकाल समाप्त भएपछि भएको बताइएको छ । मन्त्री किरातीले आफन्तको भर्ती कै लागि नेपाल पर्यटन बोर्डमा दुईजना सदस्य नियुक्त गर्न सिफारिस समिति बनाएका छन् ।

बोर्डमा २२ माघदेखि रिक्त हुने सदस्यका लागि मन्त्री किरातीले सिफारिस समिति बनाएका बताइएको छ । १६ माघदेखि रिक्त हुने बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको लागि भने अहिलेसम्म प्रक्रिया अघि नबढाएको बताइएको छ ।

मन्त्री किराती बोर्डमा पहिले आफन्तलाई राखेर मात्रै आफु अनुकुलको सीईओ नियुक्तिमा लाग्ने योजनामा रहेको बोर्डका अधिकारीहरुले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*