राष्ट्रिय गौरवसहित मुख्य आयोजनालाई समयमै सम्पन्न गर्न प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रूम’बाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजनाको अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै आयोजनास्थलमा परिणाममुखी काम गर्न आयोजना प्रमुखलाई निर्देशित गरे । “नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ । फिल्डमा तपाईंहरू काम गर्नुस् । पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस् । यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला” प्रधानमन्त्रीले भने ।












