तस्करीका कारण ६० प्रतिशतले घट्यो सुन आयात, भन्सारको स्क्यानरले चिन्दैन सुन, सुराकीकै भर

८ माघ २०८०, सोमबार १७:०२

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा सुन आयातमा झण्डै तेब्बर गुणा गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुससम्म १२ अर्ब ६ करोड रुपैयाँको १ हजार ४ सय ४६.३४३ किलो सुन आयात भएको छ ।

गएको आर्थिक वर्षको पहिलो ६ महिनामा भने ३० अर्ब २२ करोड रुपैयाँको १ हजार ८ सय ५४.८५३ किलो सुन आयात भएको तथ्याङ्क छ । गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा यो वर्ष १८ अर्ब २६ करोड रुपैयाँले सुन आयात घटेको छ ।

प्रतिशतमा गत आर्थिक वर्षको तुलनामा ६० प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ४५ अर्ब ७ करोड रुपैयाँको ३ हजार ५ सय ४२. ४१८ किलो सुन आयात भएको रेकर्ड छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्यले बजेटमा अत्यधिक भन्सार दरवृद्धि गरेका कारण सुन आयात घटेको बताए । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुनको भन्सार १० प्रतिशतबाट १५ प्रतिशतसम्म बनाएको छ ।

शाक्यका अनुसार एकातिर अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगिएको र नेपालमा ट्याक्सपेयर असाध्यै हाई भएर आयात घटेको हो । ग्लोबल मार्केट मै सुनको भाउ बढेकाले नेपालमा पनि त्यसको असर पर्नु स्वाभाविक भएको अध्यक्ष शाक्यको भनाइ छ ।

तर, सुनको आयात घट्नुको कथा अर्कै छ । चोरी र तस्करीका माध्यमबाट अत्यधिक सुन भित्रिएका कारण वैधानिक बाटो भएर आउने सुनको आयात घटेको तथ्य भेटिएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल स्वयंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीको वास्तविक आँकडा नै निकाल्न नसकिएको बताएका छन् ।

सुन तस्करले नयाँ नयाँ जुक्ति निकालेर भन्सार कटाउने गरेका कारण चोरी तस्करीको सुन समात्न समस्या रहेको महानिर्देशक पौडेलको भनाइ छ । उनले भने, ‘सुन तस्करी गर्नेहरुले सिलिकन केमिकलभित्र राखेर सुन ल्याउने गरेका कारण भन्सारले जाँचपास गर्दा पनि पत्ता लगाउन सकेको छैन । सिलिकन केमिकलको लेप लगाएर सुन ल्याउदा भन्सारको एक्सरे मेसिनले पत्ता लगाउन सक्ने रहेनछ । त्यही भएर सुराकी नभई सुन समात्न सकिने अवस्था छैन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेसिन अर्थात् स्क्यानर र अपरेटिङ सिस्टमबारे बीमापोष्टले यसअघि पनि समाचार प्रकाशित गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*