खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा

१८ फाल्गुन २०८०, शुक्रबार १२:०१

काठमाडौं ।  खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बीमागरेसँगै खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बीमा लेख हस्तान्तरण गरेका हुन् ।

विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक रहेका छन् । प्रत्येकको ७ लाख रुपैयाँ बराबरको बीमा गरिएको छ । बीमाको अवधि १ सय ६३ दिन रहेको छ । उपचार गर्नु पर्ने अवस्थामा भने प्रत्येकले बीमित रकमको २५ प्रतिशत पाउने छन् ।

नेपाल बीमा प्राधिकरणले खेललाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी ३ समूहमा वर्गीकरण गरी २०८० साल मंसिर १३ गते खेलकुद बीमा लेख जारी गरेको थियो । सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हितलाई मध्यनजर गरी खेलकुद बीमा लेख कार्यान्वयन गर्ने महत्त्वपूर्ण घोषणा गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*