अपहरणमा संलग्न व्यक्ति पक्राउ नपरेकोमा ज्ञानेन्द्र खड्का चिन्तित, गृहमन्त्री लामिछानेसँग न्यायको अपिल

काठमाडौं । व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई अपहरण गरेका गुण्डा नाईके गणेश लामा र सहदेब कक्षपति अहिलेसम्म पक्राउ नपरेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले घट्ना घटेको दुई महिना बितिसक्दा पनि अपहरणजस्तो जघन्य अपराधमा संलग्न अपराधीहरु पक्राउ नपर्दा आफू र परिवारका सदस्यहरुको जीवन असुरक्षित बनेको बताएका हुन्।
व्यवासायी खड्काले यसबीचमा पटक पटक विभिन्न पक्षबाट धम्कीहरु आइरहेको र त्रासबीच आफूले डटेर किटानी जाहेरी दिएको उल्लेख गर्दै आफू र परिवारका सुरक्षाको पूर्ण प्रत्याभूति गरिदिन उनले नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रशासन र सम्बन्धित पक्षसँग माग गरेका छन् । उनले योजनाबद्ध रुपमा गरिएको अपहरणलाई यत्तिकै गुपचुप बनाइँदा समाजमा झन त्रास, असुरक्षा र अशान्ति फैलिने खतरा औंल्याएका छन् ।
खड्काले फेसबुकमा लेखेका छन्– ‘अपहरणजस्तो जघन्य अपराधमा संलग्न गुन्डा नाइके गणेश लामा र सहदेब कक्षपती र यो फिरौती योजनामा संलग्न सम्पुर्ण गिरोहलाई थप अनुसन्धान गरी तत्काल कानुनी कारबाही अगाडी बढाइयोस ! लामो समयदेखीको निगरानी र योजनबद्द रुपमा गरिएको अपहरणलाई यती कै गुपचुप बनाइदा समाजमा झन असुरक्षा र अशान्ती फैलिने र ब्याबसायीहरु थप आक्रान्त बन्ने हुँदा पनि नेपाल सरकारले यस्मा बिशेश ध्यान दिनेछ भन्ने कुरामा बिश्वासत छु !’
‘घटना घटेको २ महिना हुँदा समेत पक्राउ गरी कारबाही नगरिएको कारण तत्काल थप अनुसन्धान गरी हामीलाई न्याय दिलाईयोस् ! म र मेरो परिवारको जिबन सुरक्षित छैन्, पटक पटक बिभिन्न पक्षबाट धम्कीहरु आइरहेको र डर त्रास बिचमा पनि यत्रो आट गरेर जाहेरी दिएको थिए त्यसैले म र मेरो परिवारको सुरक्षा गरिदिन पनि नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासन समक्ष माग गर्दछु !’
‘मलाई उठाउएको ठाउ धोलाहिटि, मलाई ८ घन्टा भन्दा धेरै बन्धक राखेको होटल र का.म.पा वडा १० को सिसिटिभी फुटेज पुन जाच गरी मलाई करकापमा गरिएको किर्ते कागज समेत चेकजाच गरी पनि न्याय पाउनेछु भन्नेमा पूर्ण बिस्वास लिएको छु ।’
‘लामा ले प्रेस मिटमा बोलेका सम्पुर्ण भ्रामक कुराहरु माथी समेत गम्भिर रुपमा अनुसन्धान गर्नु पर्ने देखिन्छ्! राजनितिक शक्तिको आडमा अपराधीहरुलाई बचाउन खोजियो भने देश र जनता माथी कै बैमानी हुनेछ र हामी जस्तो युबा उधमिहरुले फेरी फेरी न्याय पाइएला भनेर नसोच्दा हुन्छ! ढुक्क सँग आफ्नो देश, गाउ, टोलमा हिड्न उधम गर्न असुरक्षित महसुस हुन्छ भने हामी देश छोडेर कहाँ जाने ?’