अपर तामाकोशीमा नकारात्मक सर्किट, शेयर मूल्य घटेर १८३ रुपैयाँ पाउन थाल्यो

३० फाल्गुन २०८०, बुधबार ११:५८

काठमाडौं। अपर तामाकोशीको शेयर निरन्तर घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको हो ।

तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ। आपूर्ति बढी भएकाले शेयरको मूल्य घट्न पुगेको हो ।

अपर तामाकोशीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।

सो शेयर खरिदका लागि पुस २९ गतेसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिने व्यवस्था गरेको थियो । लिलामी ल्याएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको थियो । सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने र अधिकतममा कुनै हद तोकिएको थिएन । लिलाको कट अफ प्राइस एक सय ४७ रुपैयाँ आएको थियो। उक्त मूल्य भन्दा बजार मूल्य बढी आउनेले शेयर सप्लाई बढाइदिदा शेयरको मूल्य एकै दिनमा १० प्रतिशतले घटेको हो। लिलाममा शेयर किन्नेहरुले अहिले बुक गरिरहेका छन्। तर पहिले देखिनै शेयर हुनेहरु भने चर्को मारमा परेका छन्।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर मात्र बिक्री भएको थियो । बाँकी १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर अपर तामाकोशी हाइड्रोपावरले लिलामीमा ल्याएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*