अब जन्मदर्ता लिँदा नै राष्ट्रिय परिचय नम्बर पाईने

काठमाडौं। अब जन्मदर्ता लिँदा नै राष्ट्रिय परिचय नम्बर पाईने भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ ।
विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न भन्दै परिपत्र गरेको हो ।
नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएको छ ।
कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर पाएपछि मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न पनि परिपत्रमा भनिएको छ ।