विद्युतीय सवारीमा चुलिँदो क्रेजः आठ महिनामै भित्रिए साढे ६ हजार गाडी, कस्ता ईभी रुचाउँछन् नेपाली ?

दिपक विष्ट
७ चैत्र २०८०, बुधबार १७:०४

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जिप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा विद्युतीय आकर्षण थपिएसँगै आयातमा निरन्तर वृद्धि भइरहेको हो । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय गाडी (ईभी) का प्रयोगकर्ता बढेका बताइन्छ ।

नेपाली बजार ईभीका प्रयोगकर्ता साथै बढ्दो आयातले तातिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा नेपाल ६ हजार इभि गाडी भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार नेपाल फागुन मसान्तसम्ममा ६ हजार ४३५ वटा इभि गाडी भित्रिएका हुन् । जुन गत आर्थिक वर्ष २०७९/८०को तुलनामा साढे ४ गुणाले बढी हो । गत आर्थिक वर्षको ८ महिनामा १ हजार ३५७ मात्र इभि नेपालमा आयात भएको थियो ।

गत आवको फागुन मसान्तसम्ममा ३ अर्ब ९६ करोड ९७ लाख ३७ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएका थिए । तर, चालु आवको आठ महिनामा भने कुल १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी आयात वृद्धि हुँदा सरकारलाई राजस्व सङ्कलनमा ठुलो योगदान पुगेको छ । विद्युतीय गाडी आयातबाट चालु आर्थिक वर्षको ८ महिनामा सरकारलाई ६ अर्ब ९९ करोड २६ लाख ३ हजार रुपैयाँको राजस्व सहयोग भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने सरकारले प्राप्त गर्ने राजस्व १ अर्ब ८ करोड ५६ लाख ३३ हजार रुपैयाँ मात्र रहेको थियो ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् ।

कुन महिनामा कति भए आयात ?

चालु आर्थिकमा सबै भन्दा बढी ईभी आयात पुसमा भएको देखिन्छ । इभिको कर बढ्ने हल्लाले पुसमा सर्वाधिक गाडी भित्रिएका थिए । पुसमा मात्र नेपाली अटो बजारमा १ हजार ४२१ वटा इभि गाडी आयात भएको थियो ।

असोजमा पनि १ हजार २३७ वटा इभि गाडी नेपाल आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । माघ महिनामा १ हजार ५२ वटा, मङ्सिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, भदौमा ७८८ वटा र साउनमा ११० वटा इभि गाडी भित्रिएका छन् ।

फागुन भने ईभी आयात ह्वात्तै घटेको छ । फागुन २७६ ईभी गाडी नेपाल आएका छन् । व्यवसायीहरूले गत महिना ल्याएकै गाडी बिक्री गर्न नसकेपछि कम परिणाममा गाडी भित्रिएको छ ।

अघिल्ला महिनामा कर बढ्ने डरले आयात भएका गाडी बिक्री भइसकेको अवस्था हुँदा फागुनमा कम भित्रिएको एक व्यवसायीले बीमापोष्टलाई बताए । उनले भने, ‘बिचमा पूर्व अर्थमन्त्री प्रकाश सरण महतले कर बढ्ने सङ्केत गरेका थिए । सो सङ्केतसँगै व्यवसायीहरू आयातमा झुम्मिए । तर, कर नबढेपछि पहिले ल्याएकै गाडी बिक्री गर्ने तिर लागि रहेका छन् ।’

नेपालमा विक्री हुने गाडी मध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् । त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतबाट आउने गरेका छन् । नेपालीको सबै भन्दा बढी आकर्षण ५० देखि १०० किलोवाट क्षमताका सवारीमा देखिएको छ । सोहि हिलोवाटसम्मका ईभि गाडिमा नेपालीको आकर्षण बढ्दो छ ।

नेपालमा ईभी चिनबाट सबै भन्दा बढी आउने गरेका छन् । चालु आर्थिक वर्षका फागुन मसान्तसम्ममा चिनबाट ३ हजार ९६९ वटा र भारतबाट २ हजार ३९६ वटा इभि आयात भएका छन् । नेपाली बजारमा पछिल्लो समय टाटा र बीवाईडी ब्रान्ड इभि गाडी सर्वाधिक बिक्री हुने सूचीमा रहेका छन् । टाटाले २०२३ मा २ हजार ५५७ वटा इभि गाडी बिक्री गरेको छ भने बिवाइडीले २ हजार १७७ वटा बिक्री गरेको पाइएको छ ।

पछिल्लो समय एमजीको इभि गाडिले समेत नेपाली बजारमा व्यापार पाउँदै गएको छ । सन् २०२३ मा एमजिका १ हजार १२७ वटा गाडी बिक्री भएको छ ।

इन्धन गाडीको अवस्था कस्तो ?

नेपाली अटो बजार ईभीमय भइरहेको अवस्था छ । ग्राहक इभिमय वातावरण तयार हुँदै सोही गाडिमा आकर्षक भइरहेका छन् । इन्धनबाट चल्ने गाडिको व्यापार भने खस्किँदै गएको छ । निरन्तर ओरालो लागि रहेको इन्धन गाडिको आयात समेत कम हुँदै गएको छ ।

इभिको आगमनले इन्धन गाडिको व्यापार खस्कि रहेको नारायणी अटो बिजनेस वालकुमारीका प्रबन्ध निर्देशक अनुप बरालले बताए । उनले भने, ’पछिल्लो समय इभिले बजार खाइरहेको छ । इन्धनबाट चल्ने गाडिको व्यापार छैन भन्दा पनि हुन्छ । नेपाली बजार ईभीले नै खाएको छ ।’

इन्धनको गाडिको भविष्य नै नभएको भन्न चाहिँ नमिल्ने बरालले बताए । ’ईभिले नै मार्केट आएको छ । तर इन्धन गाडिको भविष्य नै नभएको भन्ने चाहिँ होइन’ बरालले भने, ‘ईभी पनि माघको तुलना फागुनमा आयात घटेको छ । धेरै ब्रान्ड आउनुले पनि असर गरेको हुन सक्छ’ ।

चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोल इन्जिनका २ हजार ३५९ भित्रिएको भन्सारको तथ्याङ्कले देखाएको छ । डिजेल इन्जिनका ४१० वटा मात्रै आयात भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*