५ अर्ब लगानीको कर्णाली कृषि कम्पनी स्थापना गर्ने सांसद लामाको माग

७ चैत्र २०८०, बुधबार १६:०१

काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (भोटे)ले कर्णालीमा कृषि कम्पनी स्थापनाको माग गरेको छन् । बुधवार प्रतिनिधि सभामा बोल्दै सांसद अध्यक्षले सङ्घीय सरकारबाट ५ अर्ब लगानीको कर्णाली कृषि कम्पनी स्थापनाको माग गरेका हुन् ।

कर्णालीमा कृषि उत्पादन हुने भए पनि बजारीकरणको अभाव रहेको लामाले बताए । उनले भने, ‘हुम्लासहित कर्णालीको कृषि उत्पादन विश्वभरका लागि महत्त्वपूर्ण छ । हिमालमा कृषि उत्पादन भए पनि बजारीकरण हुन सकेको छैन । कर्णालीको कृषिजन्य उत्पादन र बिक्री गर्ने सङ्घीय सरकारको ५ अर्ब लगानीमा कर्णाली कृषि कम्पनी स्थापना गर्ने माग गर्दछु ।’

साथै, उनले ५ अर्ब रुपैयाँ कै लगानीमा हिमाली जडिबुटी कम्पनी स्थापना गर्ने समेत सरकारसँग माग गरे । ‘नेपालको हिमाली क्षेत्रको जडिबुटी विश्व मै दुर्लभ र उत्कृष्ट मानिन्छ । हिमालको अर्बौँ रकम पर्ने जडिबुडी कौडीको भाउमा बिक्री भइरहेको छ’ उनले भने, ‘हिमाली क्षेत्रको जडिबुटीबाट नेपालको बजेट दोब्बर बनाउन सकिने हुँदा सरकारले हिमाली जडिबुटी कम्पनी स्थापना गर्नुपर्छ ।’

देशको अर्थतन्त्र सीमित व्यक्तिको हातमा रहेको लामाको भनाइ रहेको थियो । ‘अबको बजेट समान वितरण नीतिमा आधारित हुनुपर्छ । देशको युवा र पुँजी पलायन भइरहेको छ । देश युवा विहीन हुँदै छ । यसको मुख्य कारण देशको अर्थ व्यवस्था केही मुठ्ठी भर र पहुँच वाला हालमा पुगेको नै हो भन्ने प्रस्ट छ । निमुखा जनतामा अबको बजेट पुग्नुपर्छ । दार्चुला देखि ताप्लेजुङ र हिमाल देखि तराईसम्म समान रूपमा अनुभूति हुने गरी बजेट बनाउनु पर्छ’ उनले भने ।

हुम्लालाई पर्यटनको रूपमा विकास गर्ने सकिने कुरामा समेत लामाले जोड दिए । हुम्लालाई राष्ट्रिय सञ्जाल र विद्युत्सँग उनले माग गरे । कर्णालीको गरिबी कम गर्ने शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग लामाले राखेको थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*