लगानीकर्ताको रोजाइमा बीमा कम्पनीको सेयर, माइक्रोफाइनान्समा आँखा लगाउन छोडेका हुन् ?

दिपक विष्ट
१० चैत्र २०८०, शनिबार ०८:००

काठमाडौँ । पछिल्लो समय बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा बीमा कम्पनीको ६० अर्ब ८४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस अवधिमा जीवन बीमा कम्पनीको ६ लाख ७८ हजार ५६ कित्ता बराबरको ३६ अर्ब ७५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको भन्दा १९३.४८ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीको १२ अर्ब ५२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीको कारोबार समेत उच्च वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीको ३ लाख ५६ लाख २० हजार कित्ता बराबरको २४ अर्ब ९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको ११ करोड १४ लाख ७५ हजार रुपैयाँको कारोबार भएको देखिन्छ ।

बीमाको दायरा वृद्धि र व्यवसाय वृद्धिका लागि प्रतिस्पर्धाका कारण लगानीकर्ता आकर्षण बढेको शेयर विश्लेषक तथा लगानीकर्ता छोटेलाल रौनियारले बताए । लगानीकर्ताले बीमाको भविष्य सुनौला देखेको उनले बताए । ‘बजार पछिल्लो सात महिनामा धेरै दिन ओरालो लागेको छ । बजार घट्दा कुनै क्षेत्रमा आकर्षण भइरहन्छ । बीमा कमाइ समेत राम्रो देखि रहेको छ । पछिल्लो समय हरेक कुराको बीमा अनिवार्य हुँदै गइरहेको पनि छ । सोही कारण बीमा कम्पनीको आम्दानी समेत वृद्धि भइरहेको छ’ रौनियारले भने ।

मर्जरपछि बीमा कम्पनी थप बलियो हुँदा लगानीकर्ता थप झुम्मिएको रौनियारको भनाइ रहेको थियो । उनले भने, ‘मर्जरपछि केही बीमा कम्पनी कम पनि भएका छन् । दायरा वृद्धि हुँदै जाँदा आम्दानी वृद्धि भइरहेको छ । बीमा भविष्य सुनौलो देख्दा लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । अहिले स्थापना भएको हिमालय रिइन्स्योरेन्सको आगमन हुनु पनि लगानीकर्ताका आकर्षणको मुख्य केन्द्र हो । रिइन्स्योरेन्सले बिदेसी लगानी भित्र्याउने आस रहेको छ । बीमा कम्पनीको पुँजी वृद्धिका योजनाले थप बीमामा नयाँ आयम थपेको छ ।

बीमा कम्पनी बलियो हुँदै जानु र लाभांश दिने क्षमता बिस्तार हुनुले दोस्रो बजारमा आकर्षण रहेको लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए । ‘बीमा कम्पनीको व्यवसाय तीव्र रूपले अघि बढी रहेको छ । बीमा कम्पनीले शेयरधनीहरुलाई लाभांश दिन सक्ने समेत क्षमता बलियो बनाउँदै गएका छन् । सोही कारण लगानीकर्ता दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्यमा झुम्मिएका छन्’ अग्रवालले भने ।

चालु आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३ खर्ब रुपैयाँको शेयर कारोबार भएको छ । केन्द्रीय बैङ्कका अनुसार यस अवधिमा नेप्सेमा १ अर्ब ८ करोड ८५ लाख ९६ हजार कित्ता बराबरको ३ खर्ब ५४ अर्ब ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी उक्त रुपैयाँको सेयर कारोबार भएको हो ।

राष्ट्र बैङ्कका अनुसार १३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । यस अवधिमा हाइड्रोपावर कम्पनीको ३७ करोड ७४ लाख ७८ हजार कित्ता बराबरको १ खर्ब २ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरको २६ करोड १३ लाख ६९ हजार कित्ता बराबरको ८१ करोड ७६ लाख ४६ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको थियो ।

अल्पकालीन लगानीकर्ताले अहिले हाइड्रोपावरको शेयरमा झुम्मिएको रौनियारको तर्क छ । ‘अहिले दीर्घकालीन लगानीकर्ता बैङ्क तथा वित्तीय संस्था मै लगानी गरी रहेका छन् । तर छिटो नाफा लिएर बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी भएको देखिन्छ । सोही कारण समेत हाइड्रोपावरमा लगाव लगानीकर्ताको देखिन्छ’ उनले भने ।

हाइड्रोपावरको कारोबार बढे पनि तर शेयर मूल्य उचाइमा पुग्ने सङ्केत नदेखिएको लगानीकर्ता अग्रवालले बताए । उनले भने, ‘हाइड्रोपावरको कारोबार बढेको छ । तर तत्काल हाइड्रोपावरको शेयर मूल्य माथि जाने देखिँदैन । बरु हाइड्रोपावर भन्दा होल्ड गर्ने सक्नेले बैङ्क तथा वित्त क्षेत्रमा लगानी गर्ने सक्ने उत्तम हुन्छ ।’

सर्वाधिक शेयर कारोबार वृद्धि गर्ने समूहमा होटेल तथा पर्यटन रहेको छ । कोरोनापछि बिस्तारै अर्थतन्त्र लयमा फर्की रहेको छ । पर्यटनको सङ्ख्या समेत प्रत्येक महिना बढ्दो देखिन्छ । सोही कारण समेत गत आर्थिक वर्षको ७ महिनाको अवधिमा यस वर्षको सात महिनामा होटेल तथा पर्यटन समूहको शेयर कारोबार ३९४.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा २ अर्ब ८६ करोड २४ लाख रुपैयाँको कारोबार भएको होटेल तथा पर्यटन समूहको चालु आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब १४ करोड २८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

माइक्रोफाइनान्सको शेयर कारोबार किन छैन आकर्षण ?

माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण घट्दै गएको देखिएको छ । पछिल्ला केही महिना यता लघुवित्त कम्पनी सङ्कटमा छन् । कम्पनीको खारेज विरुद्ध सडकमा चलेको आन्दोलनले माइक्रोफाइनान्सको खराब कर्जा वृद्धि भइरहेको छ । यता, नेपाल राष्ट्र बैङ्कले लाभांश वितरणमा लगाएको सिमाले दोस्रो बजारमा लघुवित्तको आकर्षण घट्दै गएको हो ।

माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको सात महिनामा १७ अर्ब ३९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४६।४३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा माइक्रोेफाइनान्स समूहको ३२ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस्तै, फाइनान्स कम्पनीको शेयर कारोबार ३६.४३ प्रतिशतले घटेर १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको कारोबार बढेको छ । विकास बैङ्कको शेयर कारोबार समेत घटेको छ । यस अवधिमा विकास बैङ्कको शेयर कारोबार ७.०७ प्रतिशतले घटेर १८ अर्ब ८१ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

बैङ्क र माइक्रोफाइनान्समा लगानीकर्ताले ६०.७० प्रतिशत लगानी गुमाइसकेको छन् । बैङ्किङ क्षेत्रको शेयर मूल्य न्यूनतम मूल्यमा आइसकेको छ । बजारमा चलेका आन्दोलनले समेत लघुवित्त र बैङ्कको क्षेत्रको शेयर मूल्य घटाएको देखिन्छ । लगानीकर्ता रौनियारले भने, तर लगानीकर्ताको आकर्षणको क्षेत्र हो जस्तो छ । यसमा समय आउँछ । अब घट्ने ठाउँ छैन । बैङ्किङ क्षेत्र नेपाल कै ठुलो क्षेत्र हो । बिस्तारै माहौल बन्दै जान्छ । यस क्षेत्रमा गरेको लगानी खेर जाँदैन ।

लगानीकर्ता अग्रवालले भने राष्ट्र बैङ्कको नीतिले गर्दा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । लघुवित्त क्षेत्रको प्रतिशेयर आम्दानी निरन्तर ओरालो लागि रहेको छ । लाभांश वितरणमा समेत अवरोध केन्द्रीय बैङ्कबाट भएको छ । नीतिगत अवरोध कै कारण लघुवित्तको दोस्रो बजारमा कारोबार खस्किदैं गएको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*