आज रङ्गको पर्व होली, हिमाली र पहाडी जिल्लामा हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । आज रङ्गहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रुपमा विभिन्न रङ्ग र लोला खेली यो पर्व मनाउने गरिएको छ । आज विशेषगरी पहाडी र हिमाली जिल्लामा यो पर्व मनाइन्छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपू होलीकाले आगोमा दहन पार्न लाग्दा आँफै भष्म भएको दिनको रुपमा होली पर्व मनाउने गरिएको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक रुपमा सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।
होली पर्वको अवसरमा आज सरकारले पहाडी र हिमाली जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । तराई क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइने गरिन्छ ।